स्वेच्छा राउत / बीबीसी न्यूज नेपाली
काठमाडौं, १४ पौष । दुई वर्षअघि तयार भएको नेपाली चलचित्र चपली हाइट ३ पुस २ गते सार्वजनिक हुने तय गरिएको थियो। सोही अनुसार प्रचारप्रसार भयो तर सो मितिमा चर्चित हलिउड चलचित्र ‘स्पाइडरम्यान: नो वे होम’ र भारतीय चलचित्र ‘पुष्पा’ सार्वजनिक हुने भयो।
त्यसपछि सहरका भित्तादेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रचारप्रसार गरिरहेको चपली हाइटको टोली सेलायो। चलचित्रका नयाँ प्रदर्शन मिति तय गरियो – पुस १५।
अर्को नेपाली चलचित्र ुकठपुतलीु पनि पुस १५ मै प्रदर्शनमा आउँदै छ। चलचित्र सङ्घ र चलचित्र निर्माता सङ्घको संयुक्त निर्णय अनुसार एकै दिनमा दुई नेपाली चलचित्र प्रदर्शनमा ल्याउन पाइँदैन। कम्तीमा दुई साताको अन्तरालमा मात्र चलचित्र सार्वजनिक गर्न पाइने नियम थियो।
विद्यमान नियमानुसार ‘चपली हाइट ३’ले पुनः प्रदर्शन मिति पछि सार्नु पर्यो।
‘ठूलाठूला अङ्ग्रेजी र हिन्दी फिल्म आएकै कारण मेरो फिल्मको प्रदर्शन मिति सार्नु पर्यो। विदेशी फिल्मका कारण नेपाली फिल्मले सिनेमाघरहरूमा शो नै नपाउने भए पछि अरू उपाय बाँकी रहेन’, चपली हाइटका निर्माता अर्जुन कुमारले भन्नुभयो।
नेपाली सिनेमाघर र वितरकहरूले नेपाली चलचित्रलाई प्राथमिकता नदिएको उहाँको आरोप छ।
अर्जनु भन्नुहुन्छ, ‘विदेशी चलचित्र प्रदर्शन गर्नै हुँदैन भन्ने पक्षमा म होइन। कम्तीमा हिन्दी भाषामा डब गरिएको चलचित्र त नल्याइयोस् भन्ने हाम्रो मान्यता हो।’
अन्य भाषाबाट हिन्दीमा डब गरिएका चलचित्रहरू नेपाली चलचित्र प्रदर्शन तय भएकै मितिमा ल्याउनुले नेपाली चलचित्रहरू उद्योगलाई नै धरापमा पार्ने उहाँको धारणा छ।
भर्खर सिनेमाघर चलायमान हुन थालेको अवस्थामा चलचित्र प्रदर्शन गर्नु जोखिम भन्दै उहाँ थप्नुहुन्छ: ‘दुई करोड हाराहारीमा बनेको फिल्मको प्रचारप्रसार नै दोहोर्याएर गर्नु पर्यो। जसका कारण ३०र३५ लाख अतिरिक्त खर्च भइसकेको छ।’
‘जोखिम मोलेरै प्रदर्शन गर्छौँ भन्दा ठूला विदेशी चलचित्र जुधाउन ल्याइन्छ र लगानीकर्ता मारमा पर्छौँ।’

चपली हाइटका निर्माता अर्जुन कुमार विदेशी चलचित्रले नेपाली चलचित्रलाई मारमा पार्न नहुने बताउँछन्
निर्देशक ऋषिराज आचार्य शो कम पाएकै कारण ‘चुरीफुरी’असफल ठहरिएको बताउँछन् । दर्शकले आफ्नो फिल्म हेर्न चाहँदाचाहँदै, पायक पर्ने सिनेमाघरहरूमा शो उपलब्ध नभएको उहाँको दाबी छ।
‘जतिले हेरे उनीहरूको प्रतिक्रिया सकारात्मक छ। त्यसैले दर्शक र शो दुवै बढ्छ भन्ने आशा छ’, उहाँले भन्नुभयो।
अधिकांश मल्टिप्लेक्सले चलचित्र चुरीफुरीलाई एक शो पनि दिएका छैनन्।
के भन्छन् विदेशी चलचित्र वितरक ?
चलचित्र ‘पुष्पा’को नेपाल वितरण अधिकार मनोज राठीले लिनुभएको छ।
उहाँ पुष्पालाई डब गरिएको नभई ुबहुभाषीु चलचित्र भन्न रुचाउँउनुहुन्छ। उहाँका अनुसार विदेशी चलचित्र सार्वजनिक हुनुले नेपाली चलचित्रलाई असर गर्दैैन।
‘दर्शकले जुन फिल्म रुचाउँछन्, त्यसमा भिड हुन्छ। जुन फिल्म हेर्न भिड जम्मा हुन्छ, हल सञ्चालकले त्यसैलाई बढी शो दिने हो’, राठीले भन्नुभयो।
नेपाली चलचित्र प्रदर्शनका लागि दसैँअघि नै हलहरू खुला भएका थिए। त्यस समय केही चलचित्र सार्वजनिक भए पनि सिनेमाघरहरूमा अपेक्षित दर्शक नआएको विवरणहरू सार्वजनिक भए।

स्पाइडरम्यान
“हामीले करोडौँको जोखिम मोलेर सूर्यवंशी नल्याएसम्म नेपाली सिनेमा अघि सरेनन्। त्यस फिल्मले दर्शकलाई हलसम्म तान्यो। अब त नेपाली फिल्मको लागि पनि हल खुला छ। आफ्नो सामग्रीमा विश्वास छ भने फिल्म प्रदर्शनमा ल्याउनु पर्यो”, राठीले भन्नुभयो, “फिल्म राम्रो बनेको छ भने दर्शक आउँछन्।”
राठीले वितरण अधिकार लिएको नेपाली चलचित्रहरू ‘प्रेमगीत ३’, ‘लप्पन छप्पन २’, ‘कबड्डी ४’ लगायत पनि प्रदर्शनको तयारीमा छन्।
आफू नेपाली सिनेमाको लगानीकर्ता भएकाले यस उद्योगलाई असर पार्ने कुनै काम आफूले नगरेको उहाँको दाबी छ।
“हामीलाई नेपाली फिल्म चलेको फाइदा छ। तर व्यवसाय हो यहाँ माग र आपूर्तिको नियमले काम गर्छ।”
स्पाइडरम्यानले जगाएको आशा
‘स्पाइडरम्यान: नो वे होम’ले नेपालमा १५ दिनमा पाँच करोडभन्दा बढी कमाइ गरेको नेपालका लागि वितरक कम्पनी एपल एन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक जेनिशा पहारीले जानकारी दिनुभयो।
उहाँका अनुसार यो महामारीयता नेपालमा सर्वाधिक कमाइ गर्ने चलचित्र हो। फिल्मले पहिलो तीन दिनमा हरेक दिन एक करोड व्यापार गरेको थियो।
“महामारीले सुस्ताएको फिल्म उद्योगलाई यस फिल्मको कमाइले आशा जगाएको छ। कोभिड(१९ प्रभावित अवस्थामा हाम्रो आशाभन्दा धेरै दर्शक आए”, उहाँले भन्नुभयो।
विदेशी चलचित्रका कारण नेपाली चलचित्र नै धरापमा पर्छ भन्ने पक्षमा चाहिँ पहारी पनि हुनुहुन्न।
“कसैले कसैलाई चलचित्र सार्वजनिक गर्नबाट रोकेको छैन। सिनेमा घर ‘ओपेन प्लेटफर्म हो’, त्यसैले सिनेमाहरू जुध्नु स्वाभाविक हो। एउटै वितरकको पनि दुई वटा फिल्म एउटै मितिमा सार्वजनिक हुनसक्छ। यसलाई अन्यथा लिनु हुँदैन”, पहारीले भन्नुभयो।
कुन चलचित्रलाई कहिले र कसरी दर्शकसामु पुर्याउने भन्ने योजना दर्शकको रुचि र माग अनुसार निर्धारण गर्नु पर्ने उहाँको धारणा छ।
महामारीका कारण थुप्रै चलचित्रको प्रदर्शन रोकिएकाले एकै साता धेरै वटा चलचित्र सार्वजनिक हुनुलाई पनि उहाँ स्वाभाविक ठान्नुहुन्छ।
“कतिपय फिल्म हलिउड रिलिजसँगै नेपाल रिलिज गर्न भनिएको हुन्छ। सोही अनुरूप गर्छौँ। तर आशाजनक नेपाली चलचित्र प्रदर्शन हुने अवस्थामा हामीले हलिउड सिनेमाको प्रदर्शन नै रोकेको घटना पनि थुप्रै छन्”, पहारीले सुनाउनुभयो।
नेपाली चलचित्रलाई सहुलियत
कोरोनाभाइरस महामारी सुरु भएयता सबैभन्दा ढिला खुलेको क्षेत्र चलचित्र उद्योग हो।
यसै वर्ष दसैँको घटस्थापनादेखि देशभरका सिनेमाघरहरू पुनः सञ्चालनमा आए। त्यसअघि चलचित्र विकास बोर्डदेखि विभिन्न सङ्घ संस्थाहरूले चलचित्र निर्मातालाई विविध सहुलियत अघि सारे।
विकास बोर्डले पुस मसान्तसम्ममा प्रदर्शन मिति तय गर्ने चलचित्रको इन्कोडिङ खर्च, भीपीसी शुल्क र प्रचार छपाइ बेहोरेको थियो। त्यस्तै ती चलचित्रहरूले १२ वटा राष्ट्रिय टेलिभिजनहरूमा ५० प्रतिशत छुटमा प्रचार सामग्री प्रसारण गर्ने सुविधा बोर्डले उपलब्ध गरायो। चलचित्र छायाङ्कनका लागि बिमा गर्ने निर्माताले बोर्डको तर्फबाट डेढ लाख रुपैयाँ पाउने भनिएको थियो।
त्यसै बेला चलचित्र सङ्घ अन्तर्गतको चलचित्र प्रदर्शन व्यावसायिक समितिले महासचिव अशोक शर्माको संयोजकत्वमा छ बुँदे निर्णय गरेको थियो।
निर्णय अनुसार कर तिरेर बाँकी भएको सङ्कलनमध्ये ५५ प्रतिशत फिल्म निर्माताले पाउनेछन् भने बाँकी हल सञ्चालकको हुनेछ। त्यस्तै हलमा ट्रेलर वा टिजर देखाए बापत हल सञ्चालकले निर्मातासँग शुल्क लिने छैनन्।

चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधान नेपाली चलचित्रलाई महामारीका कारण विभिन्न सहुलियत प्राप्त भएको बताउँछन्
के भन्छ चलचित्र सङ्घ ?
गत आइतवार चलचित्र सङ्घ र चलचित्र निर्माता सङ्घको बैठक बस्यो। उक्त बैठकपछि हल सञ्चालक र फिल्म निर्माताबिच मुनाफा बाँडफाँडसम्बन्धी निर्णयको समयावधि चैत मसान्तसम्मलाई लम्बाइएको छ।
त्यस्तै नेपाली चलचित्र दुई साताको अन्तरालमा नभई एकै साताको अन्तरालमा सार्वजनिक गर्न पाइने भएको छ। र विदेशी चलचित्र स्वतन्त्र रूपमा सार्वजनिक हुन पाउने गरी निर्णय भएको चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिनुभयो।
“महामारीअघि एकै दिन जति वटा फिल्म सार्वजनिक भए पनि रोकतोक थिएन। अब चाहिँ जुधाउन नपाइने नियम आफ्नै लागि लागु गरेका हौँ। यसमा हल सञ्चालकको मात्र नभई नेपाली फिल्म निर्माताहरूको पनि हित छ”, उहाँले भन्नुभयो।
सोही बैठकपछि निर्माता अर्जुन कुमार ‘चपलीहाइट ३’ प्रदर्शन मिति पुस ३० गतेलाई सार्न तयार हुनुभएको हो।
अर्जुनले विदेशी चलचित्र वितरक र हल सञ्चालकहरूलाई लगाउँदै आएको आरोपबारे प्रधान भन्नुहुन्छ, “उहाँले आफ्नो चलचित्र सार्वजनिक हुने दिन विदेशी चलचित्र नलगाइदिन कतै पनि औपचारिक आग्रह गर्नु भएको छैन।”
कोरोनाभाइरस महामारी सुरु हुनु अघिदेखि ‘प्रेम गीत ३’, ‘नीरफूल’, ‘लक्का जवान’, ‘माइकल अधिकारी’जस्ता चलचित्र प्रदर्शनको तयारीमा थिए।
हालसालै सबैले नयाँ प्रदर्शन मिति तय गर्न थालेका छन्।


















