काठमाडौं, १४ पौष । शेयर बजार परिसूचक बुधबार सामान्य अंक बढेर बन्द भएको छ। आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ।
बुधबार नेप्से ५.५१ अंक बढेर २५२४.५० बिन्दुमा बन्द भएको छ। त्यस्तै आज २ सय २८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८४ प्रतिशत, होटल तथा प्रशोधनको ०.५७ प्रतिशत, लघुवित्तको ०.२४ प्रतिशत, म्युचुअल फण्डको ०.१३ प्रतिशत, जलविद्युतको ०.०९ प्रतिशत र बैंकिङ्ग उपसमूहको ०.०४ प्रतिशत बढेको छ। यता, विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ०.७ प्रतिशत घटेको छ भने व्यापार र जीवन बीमाको ०.५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको ४७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १३ रुपैयाँ ३० पैसा बढेर १ सय ४६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सबैभन्दा बढी ३.३९ प्रतिशत घटेको छ।








