Prakash Adhikari December 31, 2021

 

आइसल्याण्ड, १६ पौष(बीबीसी) । एक अमेरिकी शिक्षिकाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड १९ भएको पुष्टि भएपछि विमानको शौचालयमा पाँच घण्टा एक्लिएर बसेको बताउनुभएको छ।

डिसेम्बर २० का दिन शिकागोबाट आइसल्यान्डको रीकिभिक उड्नुभएकी मरिसा फोटियोले विमानभित्र घाँटी दुखेको बताउनुभयो। उहाँका अनुसार मरिसाले आफूसँग भएको तत्काल परीक्षण गर्ने किट प्रयोग गरेर सङ्क्रमण भएको हो कि भनेर हेर्नुभयो।

परीक्षणमा सङ्क्रमण देखिएपछि उहाँ स्वैच्छिक रूपमा उडान अवधिभरि विमानको शौचालयमै बस्नुभयो। विमानका एक कर्मचारीले मरिसालाई त्यहीँ खानेकुरा र आवश्यक सामाग्री उपलब्ध गराएको उहाँको भनाइ छ।

विमान चढ्न जानुअघि कोभिड१९ परीक्षणको नतिजा पेस गर्नु पर्ने वा नपर्ने प्रष्ट थिएन।

“यो अप्रत्याशित अनुभव थियो,” मिशिगन निवासी फोटियोले एनबीसी न्यूजसँग भन्नुभएको छ। “विमानमा १ सय ५० यात्रु सवार थिए। मेरो सबैभन्दा ठूलो डर सङ्क्रमण उनीहरूलाई सर्छ कि भन्ने थियो।”

आइसल्यान्डएअर विमानको शौचालयबाट उहाँले टिकटकमा सार्वजनिक गरेको भिडिओ ४० लाख पटकभन्दा बढी हेरिएको छ। मरिसाले आफूलाई अप्ठेरो बेलामा सहयोग गर्ने विमान परिचारिकाको प्रशंसा गर्नुभएको छ।

“उनले मलाई पाँच घण्टाको उडान अवधिभरि चाहिने खाना, पेयपदार्थ र आवश्यक सामाग्रीको बन्दोबस्त गरिन्। उनी बारम्बार मनजिकै आइन् र सबै ठिक हुन्छ भनेर आश्वस्त पारिन्।”, मरिसाले भन्नुभएको छ ।

फोटियोका अनुसार आइसल्यान्डमा अवतरण गरेपछि उहाा रेडक्रसको होटलमा आइसोलेशनमा बसिरहनुभएकोे छ।

अमेरिकामा कोभिड
अहिले विश्वका विभिन्न देशमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट फैलिरहेको छ। अमेरिकामा पनि उक्त भेरिअन्टबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दो छ।

अध्ययनहरूका अनुसार यस भेरिअन्टका लक्षणहरू मन्द छन् तर अन्य भेरिअन्टको तुलनामा यसको सङ्क्रमण दर तीव्र छ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार विगत सात दिनमा औसतमा २ लाख ७७ हजार नयाँ सङ्क्रमित देखिएका छन्। यो महामारी सुरु भए यताकै उच्च सङ्क्रमण दर हो। तर मृत्युदर र मानिसहरू अस्पताल भर्ना हुने दर सामान्य रहेको छ।

सङ्क्रमण बढेसँगै ठूलो सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा बसिरहेका छन्।

यसबाट हवाई उडान तथा विभिन्न व्यवसायमा प्रत्यक्ष असर पुगेको छ।

अमेरिकामा बिहीवार १ हजार,१ सय वटा उडान स्थगित भए। निरन्तर छ दिनदेखि हवाई उडानमा अवरोध पुगेको फ्लाइटअवेअरको तथ्याङ्कले देखाउँछ।

Share Now

Leave a comment.