Prakash Adhikari December 31, 2021

काठमाडौं, १६ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता हुने बलियो संभावना देखिएको छ ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमसेर राणासँग रविन्द्र मिश्रको घरमा गएर पार्टी एकताको बारेमा छलफल गर्नुभएको थियो ।

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिड.देन र महासचिव धवलसमशेर जबरासंग भेटघाट भएको तस्वीर र समाचार सामाजिक सञ्जालमा पोष्ट गरेपछि यसले राजनीतिमा सानो सानो तरंग सिर्जना गरेको छ ।

भेटको बारेमा राप्रपा महामन्त्री धवलसमशेर राणाले भन्नुभयो, “समान विचार भएका राजनीतिक दलहरुसंग एकीकरण गरेर जाने पार्टीको नीति अनुरुप विवेकशील साझासंग प्रारम्भिक चरणको वार्ता भएको हो ।”

समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले महामन्त्री राणाको नेतृत्वमा समिति गठन गरेको छ। त्यसले विभिन्न पार्टीहरूसँग एकताका लागि वार्ता गरिरहेको छ।

राप्रपा बहुदलीय संसदीय व्यवस्थाको स्थापना पछि तीस वर्ष लामो राजनीतिक पृष्ठभूमि बोकेको र त्यसपूर्वको निर्दलीय पञ्चायतको र सक्रिय राजतन्त्रको विरासत बोकेको राजनीतिक शक्ति हो भने विवेकशील साझा नयाँ अनुहार भएका व्यक्तिहरूको पार्टी हो।

शुक्रबारको छलफलका क्रममा विवेकशील साझाका अध्यक्ष मिश्रले दुबै पार्टी मिलाएर नयाँ विकल्पमा जानुपर्ने प्रस्ताव गर्नुभएको थियो।

‘विवेकशील साझा राप्रपामा मिसिन सक्दैन, राप्रपा विवेकशील साझामा आउन सक्दैन,’ मिश्रले भन्नुभएको छ, ‘मैले राखेको कुरा दुबैको सहमतिमा नयाँ विकल्प जान सकिन्छ, नयाँ शक्ति सिर्जना गर्न सकिन्छ।’

भेटमा दुवै पार्टीका नेताहरुबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, नेपाली समाज र नेपालको भविष्यबारे कुराकानी भएको बताउदै मिश्रले भन्नुभयो, ‘यो एक किसिमको शिष्टाचार भेट पनि थियो।

लामो समयसम्म वैचारिक झुकाव स्पष्ट नभएको विवेकशील साझाका अध्यक्ष मिश्रले केही समय पहिले राजतन्त्रका बारेमा नरम दृष्टिकोण सार्वजनिक गरेपछि राप्रपाले विवेकशील साझालाई मित्रशक्तिको रुपमा परिभाषित गर्दै उसंग एकताको लागि हात बढाएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा पञ्चायत काल र त्यसपछिको राजतन्त्रसहितको बहुदलीय संसदीय व्यवस्थामा सरकार सञ्चालन गरेका अनुभवी र पाका नेताहरु रहेका छन् भने विवेकशीलमा युवा र उत्साही नेताहरु रहेका छन् । गएको संसदीय चुनावमा विवेकशील साझाले राप्रपाभन्दा बढी भोट ल्याएको थियो। उसले प्रत्यक्षतर्फ १ लाख र समानुपातिकतर्फ दुई लाख १२ हजार भोट ल्याएको थियो।

राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर अगाडि बढ्ने प्रयासमा छ । पछिल्लो समय विवेकशील साझाका मिश्रले पनि राजसंस्थाप्रति उदारता देखाउनुभएको छ ।

Share Now

Leave a comment.