Prakash Adhikari January 2, 2022

 

काठमाडौं, १८ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनी लिमिटेडले कमसल मल खरिद गरेको आरोपमा त्यसका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १० जना, गुणस्तर प्रमाणित गर्ने नेसका कर्मचारी र आपूर्तिकर्ता विनित जोशीलाई भ्रष्टाचारमा मुद्दा चलाएको छ ।

अख्तियारले जनाए अनुसार यस प्रकरणमा १ अर्ब ५३ लाख २२ हजार ४ सय ६रुपैया ७२ पैसा बिगोकायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले करार ८९ । २०७७।७८बाट खरिद गरेको डीए.पी मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान गरी मुद्दा चलाएको हो ।

अख्तियारले डीएपी मलको स्पेसिफिकेशन अनुसार मोइस्चर १.५ प्रतिशत हुनुुपर्नेमा १२.४ रहेको, टोटल नाइट्रोजन बढिमा १८ प्रतिशत हुनुपर्नेमा १४.२ प्रतिशत, एमोनिकल नाइट्रोजन बढीमा १७ प्रतिशत हुनुपर्नेमा १३.६ प्रतिशत, टोटल फस्फरस ४६ प्रतिशत हुनुपर्नेमा ४५.१ प्रतिशत, पानीमा घुलनशील फोस्फेट ४५.१ प्रतिशत हुनुपर्नेमा ३३.१ प्रतिशत पाइएको जनाएको छ ।

उसले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनबाट उक्त मल तोकिएको स्पेशिफिकेशन भन्दा कम गुणस्तरको रहेको देखिंएबाट कम्पनीले तयार गरेको स्पेशिफिकेशन बमोजिम नै गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन वनाई भन्सार नाका तथा कृषि सामाग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पेश गरे गराएको देखिनुका साथै सोही प्रतिवेदनसमेतका आधारमा आपूर्तिकर्तालाई कूल रकमको ९० प्रतिशत ले हुन आउने रकम रु. १,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा ) भुक्तानीसमेत भई उक्त सरकारी रकम हानिनोक्सानी भएको पुष्टी हुन आएको जिकिर गरेको छ । ।

अख्तियारले भनेको छ :

क) कम्पनी र आपूर्तिकर्ता वीच भएको ठेक्का सम्झौताको स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको आपूर्ति भएको डिएपि मललाई सर्भेयरको सूचिमा अद्यावधिकसमेत नभएको स्वतन्त्र सर्भेयरसंग विना प्रतिस्पर्धा प्रचलित खरिद कानून एंव रासायनिक मल (नियन्त्रण) आदेश, २०५५ का प्रावधान विपरित गैरकानूनी रुपमा गुणस्तर परिक्षण लगायतका कार्यहरु गर्ने गरी जिम्मा दिई उक्त आयातित मल कम्पनीको स्वीकृत स्पेशिफिकेशन वमोजिम नै गुणस्तरको रहेको भन्ने गलत प्रतिवेदन तयार गरी/गर्न लगाई सोही प्रतिवेदनलाई आधार देखाई आपूर्ति भएको कम गुणस्तरको मल स्वीकार गरी आपूर्तिकर्तालाई आयात भएको मलको ९०% भुक्तानीसमेत दिने निर्णय तथा भुक्तानी एवं कानुन विपरित सर्वेयर नियुक्ती प्रक्रियामा संलग्न कम्पनीका प्रवन्ध सञ्चालक नेत्र वहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्कर दिप बुढासमेतले कृषि सामाग्री कम्पनी लिमिटेडलाई हानिनोक्सानी र आफूसमेतलाई गैरकानूनी लाभ लिने मनसाय लिई कार्य गरेको पुष्टि हुन आएको साथै उक्त ठेक्कावाट आपूर्ति गरिएको डिएपि मलको ९०% वापत हुन आउने रु. १,००,५३,२२,४०६।७२  भुक्तानी दिने निर्णयमा संलग्न भई भुक्तानीसमेत गरेको देखिन आएकाले नेत्र बहादुर भण्डारी, विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे र पुष्कर दिप बुढा उपर रु.१,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) तथा ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुलउपर हुन तथा प्रबन्ध संचालक श्री नेत्र बहादुर भण्डारी कृषि सामग्री कम्पनी लिमिटेडको प्रमुख पदाधिकारीसेमत रहेको देखिँदा ऐ. ऐनको दफा २४ बमोजिम थप सजाय हुनसमेतको मागदावी लिइएको छ ।
ख) गलत प्रतिवेदन तयार गर्ने गराउने कार्यमा संलग्न Nepal Environmental and Scientific Services (P) Ltd. का प्रबन्ध निर्देशक सलिल देवकोटा उक्त संस्थाको मूख्य ब्यक्ति रहेको, सोही संस्थामा ल्याव निर्देशकको जिम्मेवारीमा रही परीक्षण प्रतिवेदनको पूर्ण जवाफदेही बहन गर्नुपर्ने सुनिलबाबु खत्री, तथा आफू प्रयोगशाला परीक्षण कार्यमा संलग्न नरहेको अवस्थामा समेत परीक्षण प्रतिवेदन प्रमाणित गरी भन्सार कार्यालय तथा कम्पनी कार्यालयमा प्रतिवेदन गर्ने सो संस्थामा कार्यरत सिनियर सर्भेयर महेन्द्र कुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी तथा कम्पनी र Nepal Environmental and Scientific Services (P) Ltd.  वीच संस्थाका तर्फवाट सम्झौता गर्ने मनोज आचार्यसमेतको उक्त कसुरमा संलग्नता देखिंदा Nepal Environmental and Scientific Services (P) Ltd. तथा सलिल देवकोटा, सुनिलबाबु खत्री, महेन्द्र कुमार डागा, भोलानाथ चौधरी र मनोज आचार्यउपर बिगो रु.१,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) को कसुरमा निजहरुलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन मागदावी लिइएको छ ।
ग) कम्पनी र आपूर्तिकर्ता वीच भएको ठेक्का सम्झौताको स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको डिएपि मल आपूर्ति गरेको तथ्य नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त प्रयोगशाला प्रतिवेदनबाट प्रमाणित हुन आएकोले कृषि सामाग्री कम्पनी लिमिटेडलाई हानिनोक्सानी र आफूसमेतलाई गैरकानूनी लाभ लिने मनसायले कम्पनीको स्वीकृत स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको डिएपि मल आपूर्ति गर्ने आपूर्तिकर्ता  Joshi Biz House (P) Ltd. Kathmandu, Nepal का तर्फवाट कम्पनीलाई डिएपि मल आपूर्ति गरी सोको ९०% ले हुन आउने रकम रु. १,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा) भुक्तानी लिई ठेक्का सम्झौता बमोजिमको शर्त उल्लंघन गरेको देखिँदा Joshi Biz House (P) Ltd. Kathmandu, Nepal तथा प्रतिवादी विनित जोशीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा Joshi Biz House (P) Ltd. Kathmandu, Nepal तथा उक्त प्रा.लि.का कार्यकारी निर्देशक विनित जोशीउपर रु.१,००,५३,२२,४०६।७२  रकम बराबरको विगो कायम गरी निज प्रतिवादी विनित जोशी तथा उक्त प्रा.लि.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन. २०४८ को दफा १८ र ३५ बमोजिम एवं भ्रष्टाचार निवारण ऐन. २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाण्डौमा अरोपपत्र दायर गरिएको छ ।
Share Now

Leave a comment.