काठमाडौं, १८ पौष । टी २० विश्वकप ग्लोबल छनोटको तयारीका लागि नेपाल क्रिकेट संघले आयोजना गरेको बन्द प्रशिक्षण वरिष्ठ क्रिकेट खेलाडीहरुले बहिष्कार गरेका छन् ।
नेपाल क्रिकेट संघले राष्ट्रिय टिमका कप्तान,उपकप्तानसहित चार वरिष्ठ खेलाडीलाई गरेको कारबाही फिर्ता लिन मुखर भएका खेलाडीहरुले आज(आइतबार)देखि काठमाडौँमा निर्धारण गरिएको बन्द प्रशिक्षण बहिष्कार गरेका हुन ।
निर्धारित कार्यतालीका अनुरुप आज होटलमा ओरिएन्टेसन थियो र भोलिदेखि मैदानमा पुगेर अभ्यास थाल्ने कार्यक्रम छ।
आइतबारको ओरियन्टेशनमा अनुपस्थित हुनेमा कारबाहीमा परेका तात्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसहित १८ जना खेलाडीहरु रहेका छन् । शनिवार जम्मा ११ जना खेलाडीहरु होटल पुगेका थिए । क्यानले छानेका नयाँ कप्तान सन्दीप लामिछाने हाल अस्ट्रेलियामा बिग ब्यास लिग खेल्दैछन् । उनी जनवरी अन्तिम साता नेपाल फर्किने बताइएको छ।
चार खेलाडीहरुलाई कारवाही गर्दा उनीहरुको समर्थन गरेका करन केसी, बिनोद भण्डारी, बिक्रम सोब, अविनाश बोहरा, सन्दीप जोरा, रोहित पौडेल, कुशल भूर्तेल जस्ता खेलाडीहरु पनि बन्द प्रशिक्षणमा पुगेका छैनन् ।
क्रिकेट संघले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम गत मङ्सिर २९ गते ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । अनुशासनको डण्डा चलाएको क्यानले राष्ट्रिय टिमको कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो।
बन्द प्रशिक्षणका लागि सन्दीप लामिछानेको कप्तानी रहने गरी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामी, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भूर्तेल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब, भीम सार्की, रोहित पौडेल, प्रदीप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल र हरिशंकर शाहलाई संघले छनोट गरेको थियो ।


















