Prakash Adhikari January 3, 2022

निरञ्जन राजवंशी । बीबीसी नेपाली

काठमाडौं, १९ पौष । एकपछि अर्को मोड लिँदै गएको नेपाल क्रिकेट सङ्घ क्यान र राष्ट्रिय खेलाडीहरू बीचको शक्ति सङ्घर्ष समाधान उन्मुख भएको देखिएको छ।

विवाद समाधानका निम्ति क्यानले एक पाइला पछि हट्दै चार खेलाडीहरूलाई छ महिनासम्म वर्गीकरणको सूचीबाट हटाउने निर्णय फिर्ता लिने जनाएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बीबीसीसँग भन्नुभयो,” खेलाडीहरू र प्रशिक्षक पुबुदु दशानायकेको अनुरोध अनुसार क्यानले चार खेलाडीमाथि लगाएको छ महिने कारबाही फिर्ता गर्न हामी राजी भएका छौँ। बोर्डबाट गरिएको निर्णय भएकोले हामी यसलाई बोर्डमार्फत नै प्रक्रियामा लाने छौँ र समाधान गर्ने छौँ।”

विवादले खराब रूप लिन थालेपछि आइतवार क्यान पदाधिकारीहरू र कप्तानबाट हटाइएका ज्ञानेन्द्र मल्लसहित खेलाडीहरूबीच छलफल भएको थियो।

छलफलमा कप्तानीको जिम्मेवारीको विषयमा भएको बहसमा दुवै पक्षको ‘फेस सेभिङ’ हुने विकल्पहरूमा पनि छलफल भएको छ।

क्यानले कप्तान र उपकप्तानको जिम्मेवारीबाट ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई मुक्त गर्नुका साथै उनीहरूसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणमा छ महिनाको लागि समावेश नगर्ने गरी कारबाही गरेको थियो।

जसलाई फिर्ता लिनुपर्ने खेलाडीहरूले माग राख्दै आएका छन्।

बिहान ९ बजेको समयसीमा

आइतवारको छलफलपछि खेलाडीहरू प्रशिक्षणमा फर्किनेमा क्यान पदाधिकारीहरू विश्वस्त देखिएका छन्।

यद्यपि खेलाडीहरू आइतवार साँझसम्म होटलमा उपस्थित भएनन्।

जसले गर्दा स्पष्ट रूपमा विवाद समाधान भएको कुरामा शङ्का रहेको छ। क्यानले खेलाडीहरूलाई हाजिर हुनका लागि सोमवार बिहान ९ बजेसम्मको समयसीमा तोकेको जनाएको छ।

अध्यक्ष चन्दले भन्नुभयो, “हामीले आइतवार बेलुकी छ बजेभित्र नै खेलाडीहरूलाई होटलमा हाजिर हुन भनेको थियौँ। तर उनीहरूकै अनुरोधमा भोलि सोमवार बिहान ९ बजेसम्ममा हाजिर हुन आउन लिखितपत्र नै काटेका छौँ।”

सोमपाल कामीले भन्नुभयो, “देशको झन्डामुनि बसेर को खेल्न चाहँदैन ररु हामी त्यसको विरोधी कहिले पनि होइनौँ।”

उहाँले बन्द प्रशिक्षणमा सहभागी हुने वा नहुने विषयमा भने स्पष्ट जवाफ दिनुभएन।

यस विषयमा मल्लसँग सम्पर्क गर्न खोज्दा उहाँ उपलब्ध हुनुभएन।

खेलाडीहरू सोमवार पनि उपस्थित भएनन् भने क्यानले के गर्छ ?

क्यान अध्यक्ष चन्द भन्नुहुन्छ, “यति स्पष्ट वार्ता भएपछि सबै खेलाडी आउनेमा म पूर्ण विश्वस्त छु। यति भएपछि पनि उनीहरू खेल्न चाहेनन् भने छलफल गरेर अर्को निर्णय लिनेछु।”

अध्यक्ष चन्दले गर्ने अर्को निर्णय भनेको नयाँ अनुहारहरूलाई प्रशिक्षणमा समावेश गर्ने हो।

खेलाडीहरूलाई शनिवार नै होटलमा उपस्थित हुन भनिए पनि कारबाही गरिएका चार खेलाडीसहित विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल र रोहित पौडेल लगायत नौ खेलाडीहरू अनुपस्थित हुँदा प्रशिक्षण प्रभावित हुन पुगेको थियो।

शरद भेषवाकरलगायत बन्द प्रशिक्षणका लागि छनौट गरिएका बाँकी खेलाडीहरू भने खेल्न तयार देखिएका छन्।

मध्यमार्गी बाटो
खेलाडी पदाधिकारीहरुको यो विवादले नेपाली क्रिकेटलाई दूरगामी नकारात्मक असर पुग्न गएको कतिपयको विश्लेषण छ।

ज्ञानेन्द्र मल्ल

ज्ञानेन्द्र मल्ल

संस्थाभन्दा माथि खेलाडी होइन भन्ने तथ्य स्पष्ट पार्न अडिग देखिएको क्यान र क्यानलाई झुकाउन सकिन्छ भन्ने सोचमा रहेका खेलाडीहरू बीचको युद्धले क्रिकेटको छवि भने नराम्ररी बिग्रिएको देखिन्छ।

पूर्वकप्तान पवन अग्रवालका अनुसार ‘नेपाली क्रिकेट अब योभन्दा तल्लो स्तरमा पुग्ने ठाउँ छैन।’

अग्रवाल भन्नुहुन्छ “सुरुआतमै सुल्टाउन सकिने विषय हो। दुवै पक्षले यति धेरै इगो लिनु हुँदैनथ्यो। अब जसरी समाधान खोजिए पनि कहिँकतै समस्या रहिरहन्छन्।”

अग्रवालका अनुसार मल्ललाई एकदिवसीय टिमको कप्तानीको जिम्मा दिने र सन्दीप लामिछानेलाई टी-२० को कप्तान बनाउने योजनाले पनि तत्कालको लागि कुनै पक्षले हार बेहोर्ने छैन।

यो विषय पदाधिकारी-खेलाडीको वार्तामा पनि उठेको बताइएको छ।

“सबैभन्दा राम्रो उपाय भनेको खेलाडी(पदाधिकारी फेरि बसेर हिजो सम्पूर्ण कुरालाई बिर्सिँदै क्रिकेट विकासमा आ(आफ्नो भूमिकामा ऐक्यबद्धता जनाउनु हो,ू अग्रवाल भन्नुहुन्छ,नत्र मैदानमा गुटका रूपमा, बाहिर राजनीतिका रूपमा यो समस्या रहिरहने छ।”

चुनौती

नेपालले आगामी फेब्रुअरीमा ओमानमा टी २० विश्वकप छनोटमा प्रतिस्पर्धा गर्दैछ।

त्यसकै तयारीस्वरूप क्यानले प्रशिक्षण थालेको हो। जसमा प्रारम्भिक चरणमा ३० खेलाडी समावेश गरिएको छ।

विवादको यो परिस्थितिमाझ श्रीलङ्काली मूलका क्यानेडाली नागरिक दशानायकेले नेपाली टोली दोस्रोपटक सम्हाल्न आएका छन्।

खेलाडीहरू खेल्ने वा नखेल्ने विषयमा विभाजित अवस्थामा आएका उनीसँग चुनौती धेरै छ।

खेलाडीहरू प्रशिक्षणमा फर्किए उनीसँग टोलीलाई एकबद्ध गर्नु पहिलो चुनौती हुनेछ। टोलीलाई विश्वकपसम्मको यात्रामा अगाडि बढाउनु उनको दोस्रो चुनौती हुनेछ।

यदि खेलाडीहरू सोमवार पनि बन्द प्रशिक्षण बहिष्कार गरे भने नेपाली क्रिकेटको विवादले गम्भीर रूप लिनेछ।

Share Now

Leave a comment.