काठमाडौँ, २२ फागुन । राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति तय गरेकाले सो बारेमा छलफल गर्न बैठक बसेको पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिए ।
वाम गठबन्धनका तर्फबाट राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्ने समझदारी छ । गठबन्धनको भागवण्डामा राष्ट्रपति एमालेबाट र उप राष्ट्रपति माओवादीबाट दिने सहमति भएको छ ।
आजको बैठकमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या अन्य व्यक्तिलाई उम्मेदवार बनाउने भन्नेमा एमालेले निर्णय गर्ने बुझिएको छ । पार्टीका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि राष्ट्रपतिको पदमा रहेर मुलुकको सेवा गर्न इच्छुक देखिएका छन् ।
पार्टीका नेता माधवकुमार नेपालको आजै ६५औँ जन्मदिन परेकाले केक काटेर बैठक सुरु गरिएको थियो ।
स्थायी समितिका सदस्यहरुले जन्मदिनमा दिएको शुभकामनाको कारणले मात्र हैन,पार्टी भित्रको शक्ति सन्तुलनका हिसाबले पनि आजको बैठकमा नेता नेपालको मत नै निर्णायक हुने अवस्था छ ।