Prakash Adhikari March 6, 2018

काठमाडौं,२३ फागुुन । मंगलबार अपरान्हदेखि मध्यरातसम्म चलेको सत्तारुढ एमालेको स्थायी समितिको बैठकले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै आगामी पाँच बर्ष देशको सर्वोच्च पदमा विराजमान गराउदा पार्टी र देशको हित हुने निश्कर्षसहित पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

एमाले स्थायी समितिको बैठकमा पार्टीबाट वैकल्पिक उम्मेद्वारहरुको सूचि पनि प्रस्तुत भएपछि त्यसमा पनि व्यापक छलफल भएको थियो । छलफलमा महिलाको तर्फबाट अष्टलक्ष्मी शाक्यको नाम प्रस्तुत भएको थियो भने पुराना र परिपक्व व्यक्तित्वको रुपमा पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ र पूर्व पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालको नाम प्रस्तुत भएका थियो ।

छलफल लम्बिए पछि पार्टी अध्यक्ष केपी शर्मा ओली सहित उहाँनिकट पदाधिकारीहरुले वर्तमान राष्ट्रपतिबाट एमालेको अहित हुने कुनै काम नभएको र उहाँको २ बर्षे कार्यकाल खासै विवादास्पद पनि नभएकोले उहाँलाई नै निरन्तरता दिने निर्णय गराएका थिए ।

यो निर्णय संगै पार्टी र सरकार दुवैमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पकड मजबूत रहेको सन्देश गएको छ ।

यद्यपि पार्टीको संकीर्ण दायराबाट माथि उठेर समग्र देशको अभिभावक बनिसकेको व्यक्तित्व पार्टीको तर्फबाट उम्मेद्वार बन्ने परम्पराले बनिसकेको व्यक्तित्वलाई संकुचित पार्न खोजिएको आरोप आउने भय भने यथावत छ ।

एमालेले पार्टीका तर्फबाट वर्तमा राष्ट्रपतिलाई नै उम्मेदवार बनाउने निर्णय गरेपनि यस विषयमा माओवादी केन्द्र बाहेक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरुसंग भने छलफल गरेको छैन् । निर्वाचनमा गठबन्धनमा रहेको, सत्ताको साझेदार भएको र एकीकरण प्रक्रियामा रहेको माओवादी केन्द्रसंग भएको भागवण्डामा राष्ट्रपति पद एमालेको कोटामा र उपराष्ट्रपति माओवादी कोटामा राखिएको र दुवै पार्टीका शीर्ष नेताबीच राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिने विषयमा एकखालको सहमति भने भएको थियो ।

सत्ताको संघारमा पुगेको संघीय समाजवादी फोरम र सत्तामा भर्खर आँखा लाएको राष्टिय जनता पार्टी सहित प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेससंग यस विषयमा नेकपा एमालेले कुरा गर्न बाँकी नै छ ।

नेपाली कांग्रेसका पार्टी सभापति प्रधानमन्त्री रहेको बेलामा कार्यकारी प्रमुखले गरेका केही शिफारीसहरुमा अड्चन सिर्जना गरेको र राष्ट्रिय सभाको सदस्यको शिफारीस त प्रतिस्थापन गर्ने कार्यमा सहयोग गर्नुभएकी वर्तमान राष्ट््रपति भण्डारीलाई नै एमालेले उम्मेदवार बनाएकोले नेपाली कांग्रेसले आफ्नो तर्फबाट अलग्गै
उम्मेद्वार दिने संभावना बढेको छ । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेद्वारको बारेमा छलफल गरी निर्णय गर्न आज केन्द्रिय समितिको बैठक बोलाएको छ ।

बहालवाला राष्ट्रपतिले राजिनामा नदिईकन निर्वाचनमा उम्मेद्वार बन्ने सहुलियत पाउने देखिन्छ । संविधानको घारा ६२ को उपधारा ६ मा’ निर्वाचन मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति नियुक्त भएमा निजको त्यस्तो पद स्वत रिक्त हुनेछ’ भन्ने व्यवस्था छ ।

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० जना मतदाता कायम रहेका छन् ।

४ जनाले मतदान गर्न पाउने छैनन् ।

राष्ट्रपति निर्वाचनका लागी संघ र प्रदेशका सदस्यको मतभार फरक फरक कायम गरिएको छ ।

संघीय संसद् अर्थात प्रतिनिधिसभा २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३ सय ३४ सदस्यको मतभार एक सांसद बराबर ७९ र प्रदेश सभाका कुल ५ सय ५० सांसदको एक सांसद बराबर ४८ मतभार कायम गरिएको छ ।

Share Now

Leave a comment.