काठमाडौँ, २१ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित डा. शेखर कोइरालाले आफूपक्षीय नेताहरुको भेला गराएर पृष्ठपोषण लिईरहनुभएको छ ।
हिजो र आज भएको पार्टी निर्वाचनको समीक्षा बैठक र निर्वाचनपछि पार्टी समूह व्यवस्थापनको विषयलाई केन्द्रमा राखेर भैरहेको बैठकमा नेता डा. कोइरालाले पार्टीलाई विधि, पद्धति र विधान अनुरुप सञ्चालन गर्नपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको बताउनुभयो ।
पार्टीलाई सभापतिको मनपर्ने र नपर्ने व्यक्तिको आधारमा भेदभाव गरी अवसर दिएमा पार्टीमा दुर्घटनामा पर्नसक्नेमा सचेत गराउदै नेता कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न सबै एकढिक्का भएर प्रयत्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेता डा.कोइरालाले भन्नुभएको छ, “हाम्रा अगाडिका बाटाहरु सहज छैनन, तीन तहको निर्वाचन हाम्रो सामु छ । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरु सामु जानेछौं। कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौं ।”
नेता डा. शेखरले भन्नुभएको छ,” हामी थाक्ने छैनी र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौ। कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहने छौ। तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा न्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौं ।”


















