Prakash Adhikari January 6, 2022

 

काठमाडौं, २२ पौष । सरकारमा सम्मिलित पार्टीहरुबीचमा आवश्यक समन्वय मिलाउन र सरकारका काम गरिरहेका सबै दलका मन्त्रीहरुबीच समन्वयन गर्न सत्तारूढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको छ।

बैठकका एक सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार बैठक मुख्यगरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा केन्द्रित रहेको थियो।

यही माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ। सत्तारूढ गठबन्धनमा रहेका ५ दलले भागबन्डा गरेर उम्मदेवार उठाएका छन् भने नेकपा एमालेलगायत १२ दल पनि यो निर्वाचनमा भाग लिदैंछन्।

१९ पदका लागि विभिन्न दलबाट ४३ जनाको उम्मदेवारी परेको छ।
तर मुख्य प्रतिस्पर्धा गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेका उम्मेद्वारबीच हुने देखिएको छ।

आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनभित्र रहेका दलका नेताहरू सहभागी हुनुुहुन्थ्यो।

समन्वय समितिमा सरकारका तर्फबाट प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि हुनुहुन्छ ।

मन्त्री कार्कीका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मदेवारलाई जिताउनेबारे आज छलफल भएको थियो।

उम्मेदवारलाई जिताउने प्रदेशस्तरमा पनि दलहरू सम्मिलित रहेको संयन्त्र बनाउने सम्बन्धमा पनि निर्णय भएको छ।

साथै बैठकमा प्रतिनिधि सभा बैठक सुचारू गर्न एमालेसँग संवाद गर्नुपर्नेलगायत १५ बुँदामा संयोजक पौडेलले कुरा राख्नुभएको थियो।
समन्वयन समितिको बैठकले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन अपिलसमेत गरेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा सत्तागठबन्धनले समन्वय समिति गठन गरेको थियो। पौडेल नेतृत्वको यो समितिको दोस्रो बैठक आज बालुवाटारमा बसेको थियो।

दुई महिनाको अन्तरालमा गठबन्धनमा रहेका शीर्ष नेताहरूमध्येबाट समन्वय समिति संयोजक चयन गर्ने सहमति छ।

कबलष्mबलअष्तबष्तm

Share Now

Leave a comment.