Prakash Adhikari March 7, 2018

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २३ फागुन (बीबीसी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा उत्पन्न मतभेदका विवरणमाझ ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले राजीनामा दिने भएका छन्।

कोन ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार थिए।

श्रृखंलाबद्ध रूपमा ह्वाइट हाउसबाट बहिर्गमित हुने ट्रम्पको टोलीका उनी पछिल्ला सदस्य हुन्।

वाल स्ट्रिटका पूर्व ब्याङ्कर उनी ट्रम्पको कर लगाउने निर्णयले एउटा क्षति पुर्याउने किसिमको व्यापारिक युद्ध निम्त्याउनेमा चिन्तित रहेको चर्चा चलेका छन्।

विवाद
एउटा विज्ञप्तीमा राष्ट्रपति ट्रम्पले कोनलाई दुर्लभ दक्षता भएका व्यक्ति भन्दै सेवाका लागि धन्यवाद दिएका छन्।

पछिल्लो समयमा उनीहरू दुईबीच त्यति सुमधुर सम्बन्ध नरहेको बताइन्छ।

गएको अगष्टमा एउटा अति दक्षिणपन्थी समूहको र्‍यालीमा ट्रम्पले सम्बोधन गरेपछि उनले ट्रम्प प्रशासनले अझै ‘राम्रो गर्नसक्ने र गर्नुपर्ने’ बताएका थिए।

उक्त कार्यक्रमपछि उनले राजीनामा पत्र समेत मस्यौदा गरेको विवरण आएका थिए।

एउटा विज्ञप्तीमा कोनले भनेका छन्, “देशलाई सेवा गर्न पाउनु र अमेरिकी जनतालाई फाइदा पुग्ने किसिमका आर्थिक वृद्धिदर निम्त्याउने मुख्य गरी ऐतिहासिक कर सुधार सम्बन्धी नीति ल्याउने क्षेत्रमा काम गर्न पाएकोमा गौरव महसुस गरेको छु।”

उनले ट्रम्पलाई काम गर्ने अवसर दिएकोमा धन्यवाद दिँदै सफलताको समेत कामना गरेका छन्।

प्रभाव

वासिङटनस्थित बीबीसी संवाददाता एन्थोनी जर्चर भन्छन्, कोनको राजीनामा अनपेक्षित घटना होइन।

उनका अनुसार हालैका दिनमा ह्वाइट हाउसभित्र स्टील र अलुमिनियम आयातमा कडा नीति अँगाल्नुपर्ने विषयलाई लिएर तीव्र मतभेद देखिएका थिए र राष्ट्रपति स्वयंले त्यसलाई अघिल्लो हप्ता समाधान गरेका थिए।

कोन ह्वाइट हाउसका लागि बिरानो जस्तै थिए।

किनभने आर्थिक राष्ट्रवादको नारा अघि सारेका रिपब्लिकन राष्ट्रपति भएको ह्वाइट हाउसमा उनी विश्वव्यापिकरणको पक्षमा उभिने गरेका थिए।

ट्रम्पका कतिपय बफादार सहयोगीले उनलाई नरूचाउने गरेका विवरण आएका थिए।

तर बाहिरिया आर्थिक जगत र विशेष गरी ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर र छोरी इभान्काले उनलाई राम्रो मान्ने गरेका बताइन्छ।

उनको बहिर्गमनले ती दुवै कमजोर हुने र ह्वाइट हाउसको नीतिमा पनि ठूलो फेरबदल हुनसक्ने ठानिएको छ।

Share Now

Leave a comment.