काठमाडौं,२३ फागुन । नेपाली कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् ।
पार्टीभित्र राईका अतिरिक्त नेता मान बहादुर विश्वकर्मालाई पनि उठाउने चर्चा भएको थियो। बाम गठबन्धनका तर्फबाट महिला उमेद्वार भएका बेला महिला नै उम्मेद्वारी दिनु सवै ढंगले उपयुक्त देखेर कांग्रेसमा राईको नाममा सहमति कायम भएको बताइन्छ । राई जनजातिकी नेत्री भएकी हुनाले आदिवासी जनजातिको हक अधिकार र मूलप्रवाहीकरणको नारा दिने कम्युनिष्टहरुलाई उनको उम्मेदवारी भारी पर्ने देखिन्छ ।
भोजपुरमा जन्मिएकी वर्तमान राष्ट्रपति विद्या भण्डारीको विरुद्धमा नेपाली कांग्रेसले पनि भोजपुरकै चेली राईलाई मैदानमा उतारेको छ ।
२९ गते हुने राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले बुधवार मनोनयन गर्ने समय तालिका निर्धारण गरेको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका तीन जना राष्ट्रिय सभाका सदस्यको नाम लामो समयसम्म रोकेर केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका तीन जनाको नाम राष्ट्रिय सभा सदस्यमा तत्कालै अनुमोदन गरेपछि नेपाली कांग्रेसले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको संरक्षकको भूमिका निर्वाह गर्न नसकेको निश्कर्ष निकालेको छ ।
एमालेले वर्तमान राष्टपति भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेपछि काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निश्कर्षमा पुगेको हो।
उपराष्ट्रपति,सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसले उम्मेद्वारी दिन्छ कि दिदैन त्यो भने अझै एकिन भएको छैन् ।