Prakash Adhikari January 7, 2022

काठमाडौं, २३ पौष । नेकपा एमालेले आज (शुक्रबार) देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्दै छ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे भर्चुअल माध्यमबाट सबै जिल्लाका अधिवेशन एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ।

एमाले केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको रिजालले जानकारी दिनुभयो।

गत मंसिरमा १०औं महाधिवेशन गरेको एमालेले आज देशभर एकसाथ जिल्ला अधिवेशन गर्न लागेको हो। यस्तै प्रदेश अधिवेशन भने आगामी माघ ८ गर्ने तयारी एमालेले गरेको छ।

यसैबीच एमाले संगठन विभागले जिल्ला नेतृत्व सम्बन्धमा मापदण्ड बनाई ७७ वटै जिल्लामा परिपत्र गरेको छ।

मापदण्डअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ।

त्यस्तै जिल्ला सदस्य हुन जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल बिताएको हुनुपर्नेछ।

त्यस्तै एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसार हुने एमालेले जारी गरेको सर्कुलरमा उल्लेख छ।

जिल्ला अधिवेशनबाट एमालेको नयाँ जिल्ला कमिटी चयन हुनेछ।

Share Now

Leave a comment.