काठमाडौं, २२ पौष । हंगकंगको प्रशासनलेनेपाल वायुसेवा निगमका जहाजलाई काठमाडौं–हङकङ उडान भर्न प्रतिबन्ध लगाएको छ ।
जनवरी ४ तारिख (मंगलबार) निगमको न्यारोबडी जहाज लुम्बिनी(उडान नम्बर ४०९) चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो ।
निगमले बुधबार सूचना नै जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । निगमका सहप्रवक्ता ज्ञान अर्यालले दुई सातासम्मका लागि निगमले हङकङ उडान भर्न नपाउने स्थिति निम्तिएको बताउनुभयो ।
हङकङले कुनै उडानबाट त्यहाँ पुगेकामध्ये दुई जनासम्मलाई कोरोना संक्रमण देखिए प्रतिबन्ध लगाउँदैन । तर, जनवरी ४ तारिखमा निगमको जहाजबाट गएका पाँचमा एकैपटक संक्रमण देखिएपछि पुनः दुई साता लामो प्रतिबन्ध लागेको हो । अब निगमले जनवरी १९ सम्म हङकङ उडान गर्न पाउने छैन ।
यसअघि पनि हङकङले निगमको जहाज उडानमा पटकपटक प्रतिबन्ध लगाएको थियो । नेपालबाट संक्रमणमुक्त रहेको प्रमाणपत्र लिएर गएका यात्रुहरूको स्वाब परीक्षण गर्दा हङकङमा संक्रमित पुष्टि हुने घटना दोहोरिँदै आएको छ ।
नेपालका मान्यता प्राप्त स्वास्थ्य संस्था र ल्याबमै कोरोना परीक्षण गराउँदा पनि यस्तो घटना दोहोरिनुले नेपालको कोरोना परीक्षण पद्धति र यहाका प्रयोगशालाको स्तरमा नै प्रश्न उठन गएको छ ।
नेपालमा संक्रमणमुक्त देखिएको मानिस विदेशमा पुग्दा संक्रमित देखिनुमा नेपालमा गुणस्तरीय उपकरण, दक्ष जनशक्ति र आधारभूत प्रबन्ध नै नमिलाएका ल्याबलाई पनि परीक्षणबिनै सञ्चालन अनुमति दिनु मुख्य कारण रहेको बताइएको छ ।
कतिपय प्रयोगशालाले पैसा पाएपछि संक्रमणमुक्त रहेको प्रमाणपत्र दिने गरेको गुनासो पनि आउने गरेको छ ।
नेपालबाट नक्कली प्रमाणपत्र लिएर जाने यात्रुहरुले आफूसहित जहाजमा यात्रा गर्ने सबै यात्रुको स्वास्थ्यमा जोखिम निम्त्याएको बताइन्छ । त्यसरी गन्तब्य पुग्ने यात्रु त्यहाँ परीक्षण गर्दा कोरोनायुक्त भेटिए उही आइसोलेशन र उपचारमा बस्नुपर्ने भएकोले झन झन्झटिलो,खर्चिलो र जोखिममा पर्ने अवस्था हुन्छ ।
नेपालमा भए कोरोना नै भएपनि उचित उपचार र स्वास्थ्यलाभको अवसर लिन पाइने भएकोले पूर्णस्वास्थ्य लाभ गरेरमात्र यात्रा गर्न विज्ञहरुले सुझाएका छन् ।
आफ्नै स्वास्थ्यमाथि खेलवाड गर्ने यात्रुहरुको लापरवाहीले वा बलमिच्याइको चोट भने नेपाल वायु सेवा निगमले भोग्नुपरेको छ । यात्रु उडाएर व्यवसाय सञ्चालन गर्ने निगमको नाफायोग्य रुट मानिने हंगकंग उडान १५ दिन रोकिदा निगमलाई नोक्सानी मात्रै भएको छ । स्वास्थ्य प्रयोगशालाको लावरवाही र बदमासीको असर निगमले भोग्नुपरेको छ ।


















