काठमाडौं, २५ पौष । नेपाली चलचित्र ुप्रेम गीत ३ुको हिन्दी संस्करणको मिक्सिङको काम झन्डै दुई साताअघि सकियो। लगत्तै नेपाली संस्करणको काम सुरु भयो। चलचित्र सम्पादनलगायत प्राविधिक काम मुम्बईमा भइरहेको छ।
नेपाली प्रचार सामग्री तयार हुनासाथ नेपाल आउने, ट्रेलर सार्वजनिक गर्ने र प्रदर्शनको तयारी थाल्ने योजना बताउनुभएको थियो निर्माता एवं निर्देशक सन्तोष सेनले।
उक्त चलचित्र नेपालमा फागुन १३ गते देखि प्रदर्शनमा आउने भनिएको थियो।
तर गत साता भारतमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको भन्दै प्रतिबन्धात्मक कदमहरू चालिए। दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा भयो र सिनेमाघरहरू बन्द हुन थाले।
त्यहाँको प्रभाव नेपाली चलचित्र क्षेत्रमा पर्ने सम्भावनाबारे छलफल र विश्लेषणपछि सेन फेरि एक पटक प्रदर्शन स्थगन गर्ने निर्णयमा पुग्नुभयो।
दर्शक, वितरक र चलचित्र सङ्घलगायतलाई सम्बोधन गर्दै विज्ञप्ति जारी गरेस् विश्वव्यापी रूपमा सिनेमा घरहरू बन्द हुने क्रम बढेको छ। भारतको बजार वितरक पीभीआरले दिएको सुझावलाई मनन गर्दै हालका लागि नेपाल प्रदर्शन स्थगित गर्दैछौँ। साथै नेपाल, भारत र अन्य देशहरूमा अलगअलग मितिमा नभई एकसाथ प्रदर्शन गर्ने प्रस्तावलाई समेत स्वीकार गरेका छौँ।
“लक्षित समयमा फिल्म सार्वजनिक गर्न नसक्ने जानकारी दिँदा साह्रै खिन्न लाग्यो। अब त आर्थिकसँगै मानसिक भार पनि बढ्दो छ। कहिलेसम्म फिल्म प्रदर्शन स्थगनबारे सूचना गोजीमा राखेर बस्नू ?” उहाँले चिन्ता व्यक्त गर्नुभयो।
चार वर्षअघि निर्माण सुरु गरिएको यस चलचित्रको लागत झन्डै ५ करोड रुपैयाँभन्दा बढी भइसकेको उनको दाबी छ। प्रदर्शन मिति जति पर सर्यो लागत पनि थपिँदै जाने उहाँले सुनाउनुभयो।
उसो त छायाँङ्कन नसकिँदै उक्त चलचित्रको निर्देशक रहेका छेतेन गुरुङको निधन भयो। त्यो जिम्मेवारीसमेत आफ्नै काँधमा उठाएर जोखिम मोलिसक्नुभएको थियो सन्तोषले। त्यसपछि महामारी सुरु भयो। उहाँ सिनेमाघर कहिले खुल्छ भनेर पर्खिनुको साटो भारतमा वितरक र बजार खोज्दै हिँडेको बताउनुहुन्छ।
उहाँ चलचित्रको ‘शो रील’ बोकेर आफूसँग सहकार्य गर्ने आग्रहसहित भारतीय कम्पनीहरूसमक्ष जानुभएको थियो। चलचित्रको भारतीय संस्करणको प्रतिलिपि अधिकार ४ करोड रुपैयाँ भारतीय रुपैयाँमा खरिद गर्यो इम्पोसिबल फिल्म्सले।
व्यावसायक हिसाबमा सफल ठहरिएको चलचित्र प्रेम गीतको तेस्रो संस्करण नेपाली र हिन्दीसँगै तमिल र तेलुगु भाषामा समेत बन्न लागेको हो। फिल्मको प्राविधिक पाटो बलवुडमा नाम चलेका व्यक्तिहरूले सम्हालेको सेनको दाबी छ।

बलिउड सम्पादक संजय सन्क्लासँग निर्देशक सेन।
ध्वनिको काम सन् २०१६ मा न्याशनल फिल्म अवार्ड समेत जितेका जस्टिन जोसले गर्दैहुनुहुन्छ। ‘कुछकुछ होता है’, ‘कल हो ना हो’ लगायत सफल चलचित्रहरू सम्पादन गर्नुभएका सञ्जय सन्कलाले सम्पादन गर्दै हुनुहुन्छ। पार्श्वसङ्गीत सूर्यवंशीमा सङ्गीत दिएका अमर मोहीलेको रहने बताइएको छ।
‘मलाई आफ्नो उत्पादनमा विश्वास छ। तर भारतीय बजारका लागि मेरो काम र कलाकार सबै नयाँ हुन्। त्यसैले त्यहाँ स्थापित प्राविधिकहरूलाई संलग्न गराएर नयाँ बजार छिर्दाको जोखिम कम हुन्छ कि भन्ने आशा छ।’
सेनले अहिलेका लागि कोरोनाभाइरस नै पहिलो चुनौती भएको बताउनुभयो।
चलचित्र प्रदर्शनबारे अन्यौल थपिदिएको छ ओमिक्रोन र सम्भावित प्रतिबन्धको चर्चाले।
भिडभाड हुने ठाउँमा प्रतिबन्धबारे छलफल
नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर पुनः बढ्न थालेसँगै सरकारले प्रतिबन्धात्मक योजनाहरूमाथि छलफल गरिरहेको अधिकारीहरूले बताएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल अनुसार भिडभाड हुने र सङ्क्रमणको जोखिम उच्च हुने ठाउँहरूमा व्यवस्थापनको तयारी भइरहेको छ।
“कुनै निश्चित क्षेत्र बन्द गर्ने तयारी होइन। तर सङ्क्रमण बढिरहेकाले कसरी भिडभाड व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ”, रिजालले भन्नुभयो।
स्मार्ट लकडाउनको अवधारणा कार्यान्वयनमा ल्याउने बहससँगै नेपाली चलचित्र उद्योग भयभीत बनेको हो। किनकि सरकारले सङ्क्रमण नियन्त्रणका लागि सबैभन्दा पहिले बन्द गरेर सबैभन्दा ढिला खुलाएको उद्योग हो यो।
यसै वर्ष दशैँको घटस्थापनादेखि सिनेमाघरहरू फेरि सञ्चालनमा आए। तर दर्शकको उपस्थिति न्यून रहेकै कारण निर्माताहरूले ठूला बजेटका चलचित्र प्रदर्शनमा ल्याउन सकेनन्।
तिहारमा बलीवुड चलचित्र ‘सूर्यवंशी’ प्रदर्शन गरेपछि दर्शक हलसम्म फर्किएको र नेपाली निर्माताहरू फिल्म प्रदर्शनका लागि अघि सरेको दाबी गर्नुहुन्छ वितरक मनोज राठी।
अहिले प्रदर्शन भइरहेको चलचित्र ुकठपुतलीुले पनि व्यावसायिक पाटोमा सकारात्मक सङ्केत देखाएको छ। मिश्रित प्रतिक्रियाका बाबजुद ‘हरर’ विधाको उक्त चलचित्रले मल्टीप्लेक्स एवं सिङ्गल थियाटरमा शो कायम राख्न सफल भएको छ।
आर्थिक र मानसिक भारमा चलचित्रकर्मी
चलचित्र ‘चपली हाइट ३’ पुस ३० गतेदेखि प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। उक्त चलचित्रको दोस्रो पटक भव्य प्रचारप्रसार भइरहेको छ। दुई वर्षअघि बनेको सो चलचित्रको महामारी सुरु हुनुअघि पनि प्रचारप्रसार भइसकेको थियो।
‘फेरि सङ्क्रमण नियन्त्रणको बहानामा सिनेमाघर बन्द भयो भने हामी डुब्छौँ। सरकारले जारी गरेको निर्देशन अस्वीकार गर्ने कुरा हुँदैन। तर त्यसपछि आँसु झारेर बस्नुको विकल्प रहँदैन’, निर्माता अर्जुन कुमारले भन्नुभयो।
चलचित्र क्षेत्र पूर्ण रूपमा ठप्प हुनुले निर्माता, कलाकारदेखि प्राविधिकहरू समेत भोकै पर्ने तर्क उहाँले गर्नुभयो।
चपली हाइट
‘सङ्क्रमण नियन्त्रणका लागि सरकारले अस्पताल बनाउनुपर्यो, जनशक्ति बढाउनुपर्यो, हरेक नागरिकलाई खोप दिनुपर्यो। देश ठप्प पार्नु उचित उपाय होइन’,उहाँले भन्नुभयो।
‘कोरोनाभाइरस त अब सधैँ रहन्छ। सधैँ उद्योगधन्दा बन्द गरेर साध्य लाग्छ र?’ उहाँको प्रश्न छ।
वितरक करण श्रेष्ठ पनि सम्भावित नयाँ लहरका कारण निराश हुनुहुन्छ। उनी चलचित्र वितरक हुन्।
यस उद्योग बिस्तारै जुरमुराएको सङ्केत पाएपछि ‘कुन चलचित्र कहिले प्रदर्शनमा ल्याउनेर’ भन्ने बारे आफूले २०७९ सालको दशैँसम्मको सूची तयार पारेको उहाँले बताउनुभयो।
चलचित्र ‘म यस्तो गीत गाउँछु को तेस्रो संस्करण आउँदो फागुन २७ गते प्रदर्शन हुने भनिएको थियो। त्यस्तै चलचित्र ‘आकाशे खेती’ फागुन २७ गते, ‘चिसो एस्ट्रे’ चैत ४ र ‘पासो’ चैत १८ गते सार्वजनिक हुने तय भएको श्रेष्ठ बताउनुहुन्छ।
‘तर फेरि सङ्क्रमण फैलियो भने सरकारले भिडभाड हुने ठाउँ बन्द गर्न निर्देशन दिन्छ। भिड नभई नचल्ने सिनेमाघर बन्द गर्नै पर्यो’, उहाँले भन्नुभयो।
श्रेष्ठले नेपाली चलचित्र उद्योग करिब दुई दशक अघिको अवस्थामा फर्किएको विचार अघि सार्नुभयो।
‘महामारीपछि शून्यबाट उठ्न खोज्दै थियौँ। नयाँ भेरिअन्टले पाइला सार्नुअघि नै लडाउँछ जस्तो छ’, उहाँले आफ्नो तर्क राख्दै भन्नुभयो। ‘यो पटक उद्योग नै ठप्प पार्नुपरे पनि राहत र सहुलियतबारे पूर्वयोजना बनाओस्। नत्र चलचित्र क्षेत्रका धेरै मानिस भोकै रहन्छन्।’
अर्का वितरक रोहित कट्टेलले पनि समान धारणा सुनाउनुभयो। चलचित्रकर्मीहरूमाथि आर्थिक मात्र नभई मानसिक असर समेत परेको उहाँ बताउँनुहुन्छ।

प्रेम गीत ३ समूह छायाँकन स्थलमा।
उहाँले निर्माण गरेको चलचित्र ‘बीए पास’ पनि महामारीकै चपेटामा पर्यो।
अर्को चलचित्र ‘कृष्णलीला’ पनि यस वर्षको वैशाखमा प्रदर्शनमा ल्याउने भन्दै प्रचारप्रसार समेत भएको थियो। त्यस्तै चलचित्र ‘दुई नम्बरी युनिट’ टोली त कास्कीमा १० दिन छायाङ्कन गरेपछि काठमाण्डू फर्कन बाध्य भएको थियो।

“अब ती दृश्यहरू फेरि खिच्नुपर्छ। पुरानो काम लाग्दैन। यहाँ पैसा मात्र होइन समयको पनि बर्बादी भएको छ।”
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने हालसम्म सिनेमाघरहरू बन्द गर्नेबारे कुनै स्पष्ट जानकारी नपाएको बताउनुभयो।
“कोभिड१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र र सञ्चार मन्त्रालयबाट कुनै जानकारी आएको छैन। यसबारे थप छलफल भइरहेका छन्।” उहाँले भन्नुभयो ।


















