Prakash Adhikari January 10, 2022

 

काठमाडौं, २६ पौष । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारबाट अपेक्षित सहयोग भएमा निगमको अवस्थामा धेरै सुधार गर्न सकिने बताउनुभएको छ ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभएको छ ।

उहाँले निगममा हाल सतहमा देखिएका समस्या विगतको गलत कामकारबाहीको परिणाम भएको बताउदै कुर्सीमा बसेका कारण अहिलेका समस्याको पनि आफूले जिम्मेवारी लिने बताउनुभयो ।

समितिका सदस्यहरुसंग निगमलाई विगतमा सरकारबाट निजीलाई भन्दा टाढा राखेर काम गरिएको उल्लेख गर्दै भन्नुभयो, ‘कोभिड १९ को बेला निगममाथि अन्याय भएको छ, यस अवधिमा निगमले चार्टर्ड उडान ५६ मात्र पायो, हिमालयनले २ सय ३९ पायो, सरकारले किन हेर्दैन।

कार्यकारी अध्यक्ष अधिकारीले निगमले नयाँ व्यवसायिक योजना तर्जुमा गरिरहेको जानकारी दिंदै भन्नुभयो, ‘निजीलाई प्रश्रय दिने काम नहोस्, हामी काम गरेर देखाउँछौ ।

कार्यकारी अध्यक्ष अधिकारीले निगमले बनाएको व्यवसायिक योजना कार्यान्वयन गर्न सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

निगमलाई कम्पनीमा लैजाने सम्बन्धमा समितिका सदस्यहरुले सोधेको प्रश्नमा उहाँले भन्नुभयो, “कम्पनी मोडलबारे कर्मचारीले केही नबुझेका भने होइनन्, उनीहरु पनि निगमको हितमा काम गर्न चाहन्छन्, केही कुरामा फरक होला, यसमा म सहजीकरण गर्छु, हतपत सरोकारवालासँग छलफल नगरी विगतमा प्रस्ताव लगेकोमा कर्मचारीबाट बिरोध भएको हो ।”

उहाँले कम्पनीमा लैजाने सन्दर्भमा निगमको सम्पत्तिको मूल्यांकन निकै सस्तोमा गरिएको र सोही कारण कर्मचारीको विगतको आन्दोलन जायज थियो भन्ने आफूलाई लागेको पनि बताउनुभयो ।

अध्यक्ष अधिकारले निगमले जहाज किन्न लिएको ऋण तिर्न कटिबद्ध रहेको पनि बताउनुभएको थियो ।

Share Now

Leave a comment.