काठमाडौं, २९ पौष । सङ्क्रामक रोगसम्बन्धी विज्ञहरूले नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमण व्यापक रूपमा समुदायमा फैलिसकेको र आगामी केही सातामा त्यो उत्कर्षमा पुग्ने बताएका छन्।
विगत दुई सातामा सरकारद्वारा पुष्टि गरिएका नयाँ सङ्क्रमितको सङ्ख्या लगभग १५ गुणा वृद्धि भएपछि विज्ञहरूको यस्तो भनाइ आएको हो।
सरकारले बिहीवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार एन्टिजन र पीसीआर विधिबाट कुल १५ हजार ८१ वटा नमूना परीक्षण गर्दा ३ हजार ५ सय ५३ वटामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ।
सङ्क्रमण पुष्टि हुने दर बढ्नुलाई विज्ञहरूले नेपालमा महामारीको तेस्रो लहर देखा पर्न थालिसकेको र आगामी दिनमा अझै बढ्ने सङ्केत भएको मानेका छन्।
गत पौष १ गते झन्डै २१ हजारवटा नमुना परीक्षण गर्दा नेपालमा ३ सय ८२ जना नयाँ सङ्क्रमित थपिएका थिए।
त्यस बेला झन्डै १६ हजारवटा परीक्षण एन्टिजन विधिबाट गरिएको थियो। तीमध्ये केवल ४० वटामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणले देखाउँछ।
तर पौष २९ गते बिहीवारसम्म आइपुग्दा २४ घण्टाको अवधिमा १५ हजार ८१ वटा नमुना परीक्षण गर्दा ३ हजार ५ सय ५३ थपिएका छन्।
सोही अवधिमा पीसीआर विधिबाट गरिएका झन्डै १० हजार ५ सय वटा परीक्षणमा करिब २८ प्रतिशतमा सङ्क्रमित पाइएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३ सय ४० छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा झन्डै ८ हजार ४ सय सक्रिय सङ्क्रमित छन्।
आईसीयूमा १ सय १० जना र भेन्टिलेटरमा २५ जना बिरामी गराइरहेका छन्।
विगत २४ घण्टामा काठमाण्डूमा १ हजार ४ सय ४९, ललितपुरमा ३ सय १७ र भक्तपुरमा १ सय ५० जना सङ्क्रमित थपिएका छन्।
के भन्छन् विज्ञ
इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाखाका पूर्वप्रमुख डा. वासुदेव पाण्डे ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमणको सङ्ख्या बढिरहेको हुनसक्ने बताउनुहुन्छ।

पर्सामा कोभिड परीक्षण गराउँदै
रक्सौलबाट वीरगन्ज सीमानाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुको हेल्थ डेस्कमा परीक्षण गरिँदै
उहाँले भन्नुभयो, “हाम्रोमा त्यति राम्रोसँग नमुना सङ्लन हुन सकेको छैन। यो हिसाबले भन्दा समुदायस्तरमा यो ठूलै लहरको रूपमा सङ्क्रमण फैलिरहेको १० दिनबीचको अवधिमा देखिएको छ।धेरै व्यक्तिहरूलाई सङ्क्रमण भइसके पनि परीक्षणमा रहेको कमजोरीका कारण नदेखिएको हुनसक्छ।”
उहाँले अरू देशहरूको अनुभव हेर्दा आगामी साताहरूमा सङ्क्रमितको सङ्ख्या अझै वृद्धि हुने उल्लेख गर्नुभयो।
“अहिलेसम्मको अध्ययनले हेर्दा ओमिक्रोन सजिलैसँग सर्न सक्छ। यसले घाँटीको माथिल्लो भागमा सङ्क्रमण गराउँछ र अहिलेसम्मको अध्ययनले तल फोक्सोमा खासै असर नगर्ने देखाएको छ।”डा. पाण्डे थप्नुहुन्छ, “श्वासप्रश्वासमा मात्रै असर हुने र दुवै मात्रा खोप लगाएको व्यक्तिलाई पनि सङ्क्रमण हुन सक्ने भएकाले प्राकृतिक रूपमा ओमिक्रोनविरुद्धको एन्टिबडी नआउन्जेलसम्म यो रोग अझै व्यापक रूपमा नै हुन्छ र समुदायमा ४० देखि ५० प्रतिशतलाई भएपछि मात्रै कम भएर जान्छ।”
कस्तो कदम चाल्नुपर्छ
नेपालमा सङ्क्रमण वृद्धि भएको भए पनि अहिलेसम्म अस्पतालहरूमा चाप बढिनसकेको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन्।
अधिकारीहरूले कुन भेरिअन्टका कारण सङ्क्रमण वृद्धि भइरहेको छ भनेर स्पष्ट नबताए पनि अघिल्लो साता पौष महिनामा सङ्कलित १ हजार १ सय ४६ वटा नमुनाको एसजीन स्क्रीनिङ गरिएको र त्यसको २२ प्रतिशतमा एसजीन नभएको पत्ता लागेको थियो।
एसजीन नभएका भनिएका २ सय ५० नमूनामध्ये २४ वटालाई जीन सिक्वन्सिङका लागि पठाउँदा सबैमा ओमिक्रोन पाइएको थियो।
खोप अभियान

खोप अभियानलाई तिव्रता दिन सरकारले आफ्ना निकायहरूलाई निर्देशन दिएको छ
सरुवा रोगसम्बन्धी विशेषज्ञ डा. अनुप बास्तोला सङ्क्रमण समुदायस्तरमा फैलिएकाले खोप अभियान तीव्र बनाउनुका साथै नयाँ देखिने सङ्क्रमितहरूको निगरानी बढाउनुपर्ने बताउनुहुन्छ।
“नयाँ भेरिअन्टका कारण खोप लगाएकामा पनि सङ्क्रमण देखिन्छ। पहिला सङ्क्रमित भइसकेका व्यक्तिहरू पनि नयाँ भेरिअन्टका कारण फेरि सङ्क्रमित हुन सक्छन्। हामीले एकदमै नजिकबाट नियालेर अस्पतालमा भर्ना हुनेको दर के छ भनेर हेर्नुपर्छ।”, डा.बास्तोलाले भन्नुभयो . “रोकथाम, नियन्त्रणलाई प्राथमिकतामा राखेर खोप अभियानलाई तीव्र बनाउनुपर्छ। कोही अस्पताल भर्ना भयो भने खोप लगाएको व्यक्ति हो वा होइन कुनै गम्भीर समस्या थियो या थिएन यस्ता विषयको सूक्ष्म ढङ्गले निगरानी गर्न सकियो भने भावी दिनमा कस्तो असर पर्न सक्छ भनेर आकलन गर्न सकिन्छ।”
विगतमा के कमजोरी देखिए
यसअघि गएको चैत-वैशाखमा कोरोनाभाइरसको महामारीको दोस्रो लहरले नेपालको स्वास्थ्यप्रणालीमा रहेका कमी कमजोरीलाई उजागर गरिदिएको थियो।
त्यस बेला अस्पतालहरूमा शय्याहरूको अभाव हुनुका साथै अक्सिजन, भेन्टिलेटर र आईसीयू जस्ता अत्यावश्यक संरचनाको अभावका कारण सर्वसाधारणहरूले सास्ती खेप्नुपरेका विवरण आएका थिए।
सङ्क्रमणको दर पनि ह्वातै बढेको थियो जसले गर्दा स्वास्थ्यसंस्थाहरूले थेग्नै नसकिने प्रकारको चाप खेप्नुपरेको बताएका थिए।
गत वैशाख ८ गते पीसीआर परीक्षण गराउने झन्डै ८ हजार ८ सय ५० जनामध्ये २५ प्रतिशतभन्दा बढीमा कोभिड १९ पुष्टि भएको थियो।
एकै दिनमा पुष्टि भएका सङ्क्रमितहरूको सङ्ख्या वैशाख २८ गतेसम्म आइपुग्दा वृद्धि भएर ९ हजार ४ सय ८३ पुगेको थियो जुन हालसम्मकै सर्वाधिक हो।
त्यस दिन सार्वजनिक गरिएका विवरणमा २ सय २५ जनाले ज्यान गुमाएको उल्लेख छ।
त्यस बेला एक दिनमा करिब ११ सय जना आईसीयूमा र ३ सय जना भेन्टिलेटरमा रहेको सरकारी तथ्याङ्क छ।
हाल झन्डै २ हजार ८ सय आईसीयू बेड, १ हजारभन्दा बढी भेन्टिलेटर र १४ हजार अक्सिजन सिलिन्डर मौज्दात रहेको स्वास्थ्य मन्त्रालयले बुधवार जनाएको थियो।
थप निगरानी आवश्यक
अहिलेको ओमिक्रोन भेरिअन्ट एकदमै घातक प्रकृतिको नरहेका अध्ययनहरूले देखाइरहेकाले विगतको जस्तो चाप स्वास्थ्य संस्थामा नदेखिने आफूहरूलाई लागेको विज्ञहरू बताउँछन्।

सङ्क्रमित बढे पनि राजधानीमा भिड घटेको छैन
डा.बास्तोला भन्नुहुन्छ, “दोस्रो लहरमा जुन किसिमको गम्भीर लक्षणहरू देखिएका र अस्पतालहरूमा भर्ना हुने क्रम थियो त्यो अहिलेसम्म सुनिएको छैन। तर जसरी सङ्क्रमण बढिरहेको छ त्यो हेर्दा केही हप्तामा यो उच्चबिन्दुमा पुग्छ। त्यही भएर हामी रोकथामका उपायमा सुरक्षित हुन जरुरी छ।”
तर सङ्क्रामक रोग विशेषज्ञ डा. बाबुराम मरासिनी यस पटक अस्पतालमा विगतजस्तो चाप नदेखिन सक्ने बताउनुहुन्छ।
“यो तेस्रो लहरको सुरुवात हो जस्तो मलाई लाग्छ। सरकारले पनि यो आमिक्रोन हो कि डेल्टा भेरिअन्ट हो कि स्पष्टसँग भन्न सकेको छैन। ओमिक्रोन हो भने व्यापक सङ्क्रमित बनाए पनि फाटफुट्टबाहेक अस्पताल जानुपर्ने अवस्था आउँदैन भनिएको छ किनभने यसले फोक्सोको निमोनिया गराउँदैन।”, डा. मरासिनीले भन्नुभयो . “त्यही भएर अस्पतालमा चाप अलिक कम हुने हो की भन्ने आँकलन गर्न सकिन्छ।”
विज्ञहरूले सरकारले खोप केन्द्रहरू विस्तार गर्नुपर्ने र बढी सङ्क्रमण देखिएका क्षेत्रमा निगरानी बढाउनुपर्ने पनि उल्लेख गरेका छन्।
सरकारले पौष मसान्तभित्र १९ वर्षको उमेर समूहका दुईतिहाइ नागरिकलाई पूर्ण मात्रा खोप दिने लक्ष्य राखेको छ।
उक्त लक्ष्य हासिल गर्न सम्भव नदेखिने सङ्केत देखिएका बेला यसै साता विभिन्न सार्वजनिक सेवाहरू उपभोग गर्न खोप कार्ड अनिवार्य हुनुपर्ने नियम ल्याइएको छ।


















