काठमाडौं, २३ फागुुन । दुवै आँखा र खुट्टा नभएकालाई पर्वतारोहणका लागि निषेध हुने नियम खारेज भएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रसम्शेर जबरा र दीपककुमार कार्कीसहितको संवैधानिक इजलासले बुधबार सो व्यवस्था कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हो ।
अबदेखि दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएकाले पनि हिमाल आरोहण गर्न पाउने भएका छन् ।
पर्यटन मन्त्रालयले गत पुसमा नयाँ नियमावली लागु गर्दै दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएकालाई सगरमाथा आरोहण गर्न रोक लगाएको थियो । पर्वतारोहण नियमावली २०५९ मा दुवै आँखा र दुवै खुट्टा नभएकालाई पर्वतारोहण गर्न निषेध थियो ।
सो व्यवस्थाको विरोध गर्दै माधव चम्लागाईंले संविधानको धारा १८ (२) को समानताको हकविपरित भएको भन्दै रिट दायर गरेका थिए ।