लन्डन(संयुक्त अधिराज्य), २३ फागुन ।लन्डनस्थित नेपाली दूतावासमा बुधबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।
कार्यक्रम चर्चित ब्रिटिस अभिनेत्री तथा नेपालकी मित्र जोआना लुम्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री जोआना लुम्लेले नेपालीबाट आफूले पाएको माया र सदभाव अमूल्य रहेको बताइन् ।
उनले पुरुषसँग प्रतिस्पर्धी हुन आफ्नो सीप र दक्षता वृद्धि गर्न महिलाहरुलाई सुझाव दिइन् ।
बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दूतावासलाई नेपाली महिलाहरुको ‘माइतीघर’ बनाउने चाहना रहेको पनि बताए । उनले हालसम्म तिज र नारी दिवसमा मात्र दूतावासले महिलाका लागि कार्यक्रम आयोजना गर्दै आएकोले महिलाहरुको सीप र क्षमता अभिबृद्धिका लागि थप कार्यक्रम गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा पुनमराज्य लक्ष्मी सुवदीले स्वागत मतव्य व्यक्त गर्दै बेलायतमा रहेका नारीलाई एकत्रित गराउन कार्यक्रम आयोजना गरिएका बताएकी थिइन ।
कार्यक्रममा चर्चित गायिका मिरा राणाले ‘जहाँ गाए पनि’ र ‘मखमली चोलो’ बोलको गीत गाएकी थिइन ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गायिका मथुरा श्रेष्ठले पनि गीत गाइन् भने अमृता गिरी, आस्था जोशी, आयुशा श्रेष्ठ, अनु श्रेष्ठ, सौरभी दाहाल, संगिता मगर, सिम्मी पुन र दिक्षा सुनुवारले नाच प्रस्तुत गरे ।
कार्यक्रमकी प्रमुख अतिथि अभिनेत्री जोआनालाई मायाको चिनो प्रदान गरिएको थियो ।