विर्तामोड(झापा),२३ फागुन ।आयोजक रमपम झापा–११ जारी रमपम तेस्रो झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न क्वाटरफाइनलतर्फ झापाले पाहुना टोली युनाइटेड सिक्किमलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
बिर्ता बजारस्थित डोमालाल खेल मैदानमा सम्पन्न खेलमा अग्रता भने युनाइटेड सिक्किमले लिएको थियो । खेलको १८ औं मिनटमा म्याल डोक लेप्चाले गोल गर्दै पाहुना टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर लगतै २४ औं मिनटमा झापाका लागि खामिर गिलनस कान्दङवाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
त्यस्तै पहिलो हाफकै ४२ औं मिनटमा सिक्किमले आत्मघाती गोल खान पुगेको थियो । उसका जिग्मे दोर्जी भुटियाले आत्मघाती गोल गरेपछि उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुगेको थियो । खेलमा झापाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको अन्तिम क्वाटरफाइनल खेल दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।
मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल यहि फागुन २८ गते हुनेछ ।