Prakash Adhikari January 16, 2022

काठमाडौं, २ माघ । अमेरिकी सेनाले छोडेपछि तालेबानको कब्जामा आएको अफगानिस्तानमा देखिएको भोकमरी र मानवीय संकट समाधानमा सघाउन नेपालले आज मानवीय सहायता सामग्री पठाउदै छ ।

आज मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जादैछ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले खाद्यान्न, औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिनुभएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले दक्षिण एसियाली मुलुक अप्ठेरोमा परेका बेला मानवीय सहयोग गर्नु नेपालको नैतिक जिम्मेवारी भएको बताउनुभएको छ ।

नेपाल दक्षिण एशियाली राष्ट्रहरुको संगठन सार्कको अध्यक्ष भएकोले सदस्य राष्ट्रमा संकट पर्दा सहयोग गर्नु उसको कर्तव्य पनि मानिएको छ ।

सरकारले अफगानिस्तानमा मानवीय सहयोग पठाउने कार्यमा सहयोग गर्न नेपालस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूत र उद्योगी तथा व्यापारी तथा साहु महाजनहरुलाई अनुरोध पनि गरेको थियो ।

नेपालले लिएर जाने खाद्यान्न, लत्ताकपडा र औषधी काबुलमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण गर्ने बताइएको छ ।

अफगानिस्तानलाई गर्ने मानवीय सहयोगले संकट परेका बेला नेपालले ठूलो स्केलमा सहयोग पनि गर्न सक्छ भन्ने सन्देश दिने मन्त्री खड्काले बताउनुभएको छ ।

‘देशको इमेज विल्ड अप गर्न र हम्रो क्षमता छ भन्ने सावित गर्नका लागि यो एउटा मिसन हो’ मन्त्री खड्काले भन्नुभयो ।

 

Share Now

Leave a comment.