Prakash Adhikari January 16, 2022

काठमाडौँ, २ माघ । ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई सहयोग सामग्री लिएर नेपाली जहाज काबुल उडेको गरेको छ ।

परराष्ट्र मन्त्रालयको नेतृत्वमा आइतबार बिहान औषधि, लत्ताकपडासहित १० टनको सामग्री लिएर नेपाली टोली हिमालयन एअरको हवाइजहाजमा अफगानिस्तानको काबुल प्रस्थान गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताउनुभयो ।

नेपाली टोली काबुल अन्तराष्ट्रिय विमानस्थलमै राष्ट्रसंघीय टोलीलाई सामग्री हस्तान्तरण गरेर फर्कने बताइएको छ ।

गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएका छन् । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ ।

त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २ सय २० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ । तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।

ध्वजाबाहक छोडेर हिमालयन

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कोरोना संक्रमणका कारण लक डाउन भएको अवधिमा विदेशमा भएका चार्टर उडानमा पर्यटन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई भन्दा निजी क्षेत्रको हिमालयन एअरलाइन्सलाई बढी उडान दिएकोमा छानबिन सुरु गर्नुभएको छ ।

तर यसै बेला नेपाल सरकार अन्तरगतकै परराष्ट्र मन्त्रालयले भने हिमालयन एअरलाइन्सलाई मानवीय सहायता उडानको अनुमति दिएर पर्यटन मन्त्रीले थालेको प्रयासलाई लोप्पा ख्वाउने प्रयास गरेको छ ।

तात्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीको यति ग्रुपका आड.छिरिड. र सोनाम छिरिड.संग निकट सम्बन्ध भएपनि उहाँ सत्ताबाट बाहिरिएपछि त्यो नेटवर्क चट् भएको अनुमान भैरहेको बेला नेपाली कांंग्रेसका नेता डा. नारायण खड्काको नेतृत्वमा रहेको परराष्ट्र मन्त्रालयलाई राष्ट्रिय ध्वजाबाहकलाई हटाएर यति ग्रुपले प्रबर्धन गरेको हिमालयन एअरलाइन्सलाई चार्टर उडान दिनुपर्ने खाँचो किन पर्यो । मन्त्रालयले स्पष्ट पारेको छैन् । बौद्धिक नेता मानिने डा.खड्का घुस र कमिशनबाट भने टाढै हुनुहुन्छ ।

 

Share Now

Leave a comment.