Prakash Adhikari January 16, 2022

काठमाडौं, २ माघ । प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएका दुई खेलमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश बिजयी बनेका छन् तर दुवै विजेता टीम सेमिफाइनल पुग्न असमर्थ भएका छन् । आजको खेलसंगै पहिलो चरणको खेल समाप्त भएको छ ।

प्रदेश १ माथि सुदूरपश्चिमको विजय

प्रधानमन्त्री कप टी २० क्रिकेट राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको छ ।

प्रदेश १ को हारसँगै ग्रुप ए बाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् भने ग्रुप बि बाट नेपाल एपीएफ क्लब र बागमती प्रदेशले सेमिफाइनलको मार्ग तय गरेका छन् ।

यसअघि सुदूरपश्चिमले नेपाल पुलिस क्लबसँग २ रन तथा त्रिभुवन आर्मी क्लबसँग ३ विकेटको हार बेहोरेको थियो भने कर्णाली प्रदेशमाथि ४७ रनको जित निकालेको थियो ।

यस्तै, प्रदेश १ ले भने कर्णालीसँग ३१ रनले पराजित भएको थियो भने त्रिभुवन आर्मी क्लबसँग अंक बाडेको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ बल बाँकी रहदै ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर राजु रिजालले ६८ रन, अर्का ओपनर सन्तोष भट्टले ४८ तथा अर्जुन साउदले अविजित २६ रनको योगदान दिए । नारायण जोशी र खड्क बोहोराले समान ८ । ८ रन बनाए ।

प्रदेश १ को बलिंगतर्फ कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । उसका लागि मुकुन्द यादवले ३४ तथा सोनु अन्सारीले ३१ रनको योगदान दिए । यस्तै, मिनास थापा र कप्तान अंकित सुवेदीले समान २३।२३ रन बनाए भने श्रवण यादवले ९, विवेक आनन्द मेहता र दीपेश कँडेलले ७ । ७, सुरज श्रेष्ठ र फिर्दोष अन्सारीले ४।४ र मनोज तामाड.ले १ रन जोडे ।

सुदूरपश्चिमको बलिंगमा हेमन्त धामी र नारायान जोशीले समान २ । २ विकेट लिए भने कैलाश ऐयर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य मेहताले समान १ विकेट हात पारे ।

लुम्बिनीद्वारा गण्डकी पराजित

आजै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नै दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । गण्डकी चालु प्रतियोगितामा एक खेल पनि नजितिकन विदा लिन बाध्य भयो । लुम्बिनीले ४ खेलमा २ जित र १ हारसहित ४ अंक बटुले पनि सेमिफाइनल पुग्न असमर्थ भयो ।

ग्रुप ए बाट दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा ग्रुप बि बाट अपराजित नेपाल एपीएफ क्लब तथा बागमती प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा १ सय ५ रनको लक्ष्य लुम्बिनीले १३.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर ब्याटर देव खनालले ५६ तथा सुशान्त थापाले २६ रन बनाए ।त्यस्तै कृष्ण कार्कीले ८, बशीर अहमदले ७, सौरभ खनालले ४ र सन्दीप रजालीले ३ रनको योगदान दिए ।

गण्डकीको बलिंगतर्फ सुबाश भण्डारीले ३ विकेट लिए । यस्तै, अशोक श्रेष्ठ र कृष्ण पौडेलले समान १ । १ विकेट हात पारे ।

यसअघि खेलमा टस जितेर ब्याटिंग रोजेको गण्डकी प्रदेशले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । उसका लागि अनिल गुरुङले ५०, कप्तान बिशाल पौडेलले १६, बिधान श्रेष्ठले १४ तथा गोविन्द बिकेले १२अभिषेक बस्नेतले ३ र सन्दीप क्षेत्रीले १ रन बनाए ।

लुम्बिनीको बलिंगतर्फ अनिल खरेलले ४ विकेट लिए भने कृष्ण कार्की र दिपेन्द्र रावतले २ । २ तथा दुर्गेश गुप्ता र तुल बहादुर थापाले समान १। १ विकेट हात पारे ।

Share Now

Leave a comment.