Prakash Adhikari January 20, 2022

खाँदबारी(संखुवासभा), ६ माघ । निकै सन्तोषजनक ढंगले अगाडि बढिरहेको अरुण तेस्रो जलविद्युत आयोजनामा पनि स्थानीय बासिन्दालाई भड्काएर आयोजनाको निर्माण कार्य अबरुद्ध गर्ने समूह सक्रिय हुन थालेको देखिएको छ ।

स्थानीयहरुले मुआब्जा नपाएको भन्दै बुधबार निर्माणस्थलमा यातायात ठप्प पारिएको छ ।

निर्माण सुरु भएको ३ वर्ष बितिसक्दा पनि संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाबाट मुआब्जा नपाएको भन्दै स्थानीयहरूले गुनासो गरेका छन् ।

अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिले बुधबारबाट चरणबद्ध रुपमा आन्दोलन गरेको हो ।

अरुण तेस्रो परियोजना निर्माणको काम ५० प्रतिशत सम्पन्न हुँदासमेत मुआब्जा नपाएपछि आन्दोलन गर्नुपरेको संघर्ष समितिका अध्यक्ष जनीकुमार राईले बताउनुभएको छ ।

आन्दोलनकारीहरुले बुधबार अरुण प्रवेशमार्गको छ्याङकुटी पावरहाउस स्थलमा यातायात ठप्प पारेका थिए ।

आयोजना प्रभावित झण्डै ४ सय परिवार मुआब्जापीडित आन्दोलनमा सहभागी छन् । लगानी बोर्डले छ्याङकुटी पावरहाउस क्षेत्रमा झण्डै ५ सय २४ रोपनी जग्गाको मुआब्जा दिन बिलम्ब गरिरहेको छ ।

मुआब्जाको बजेटबारे जिल्ला प्रशासन कार्यालय संखुवासभालाई ४ महिनाअघि नै जानकारी भए पनि प्रशासनले कुनै सुनुवाइ नगरेका कारण आन्दोलन गर्नु परेको पीडितहरूको भनाइ छ ।

Share Now

Leave a comment.