सानेपा(ललितपुर), २४ फागुन। कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सय दिन पनि नपुग्दै स्वतन्त्र न्यायालयलाई समेत धम्क्याएर राज्यसंयन्त्रमाथि राजनैतिक नियन्त्रण गर्न उद्त रहेको आरोप लगाएका छन् ।
१ सय ८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघले बिहीबार केन्द्रीय पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वामगठबन्धनको सरकारले राज्यका संबैधानिक अंगमाथि हस्तक्षेप गर्दै नियन्त्रण जमाउन खोजेको आरोप लगाएका हुन् ।
उनले सरकारका हस्तक्षेपकारी क्रियाकलापको सशक्त प्रतिकार गर्न संगठनलाई सुदृढ, मजबुत र बलियो बनाउन पनि महिला संघलाई निर्देशन दिएका छन् ।
महिला आरक्षण र राज्यका सबै निकायमा पहुँच पुर्याउने सवालमा राष्ट्रपति उपराष्ट्रपति, सभामुख उपसभामुख मध्ये एक महिला हुनै पर्ने संबैधानिक व्यवस्था गरिनु निकै राम्रो सुरुआत भएको उनको भनाइ छ ।
उनले विस्तृत व्याख्या नगरे पनि राष्टिय सभाका मनोनित सदस्यहरुको शपथग्रहणका लागि अदालतले हिजो मार्ग प्रशस्त गरेकोप्रति संकेत गरेको प्रष्टै बुझिन्थ्यो ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सञ्चारमाध्यममा राष्ट््िरयसभाका सदस्य मनोनयन गर्ने राजनीतिक विषयमा अदालत प्रवेश गर्न नहुने अभिव्यक्ति दिंदै आएका थिए । संसद भवनमा आयोजित एमाले र माओवादीका नवनिर्वाचित संघीय संसदका सदस्यहरुको प्रशिक्षण भेलामा प्रधानमन्त्री ओलीले अदालतले राजनीति गरेको आरोप लगाएका थिए ।