अकल्याण्ड(न्युजिल्याण्ड), ९ माघ । अघिल्लो शनिवार टोङ्गामा भएको ज्वालामुखी विस्फोटन कति शक्तिशाली थियो भन्ने कुराको एउटा सूचक धुवाँको मुस्लो पुगेको उचाइ हो।
मौसमबारे जानकारी प्राप्त गर्न राखिएका भूउपग्रहबाट प्राप्त तथ्याङ्क अध्ययन गरिरहेका यूकेका वैज्ञानिकहरूले धुवाँको मुस्लो पृथ्वीको सतहभन्दा झन्डै ५५ किलोमिटर माथिसम्म पुगेको हिसाब निकालेका छन्।
यूके न्याश्नल सेन्टर फर अर्थ अब्जरबेसनमा आबद्ध डा. साइमन प्राउड ज्वालामुखीबाट उत्पन्न भएको धुवाँको मुस्लो ूत्यति माथि पुगेको यसअघि नसुनिएकोू बताउँनुहुन्छ।
बिसौँ शताब्दी अन्त्यतिर सबैभन्दा शक्तिशाली विस्फोटन सन् १९९१ मा माउन्ट पीनाटुबाउमा भएको थियो। त्यस बेला धुवाँको मुस्लो झन्डै ४० किलोमिटर माथि पुगेको अनुमान गरिएको थियो।
तर फिलिपिन्समा भएको उक्त विस्फोटनमा उत्पन्न धुवाँको मुस्लोबारे अहिलेको जस्तो सटिक विवरण उपलब्ध थिएन।
टोङ्गाको ज्वालामुखी विस्फोटनका कारण उत्पन्न धुवाँको मुस्लोको अवस्था जान्नका लागि जापानी, अमेरिकी र कोरियाली मौसमसम्बन्धी भूउपग्रहहरूका तथ्याङ्क प्रयोग गरिएको थियो।

धुँवाको मुस्लो
“ती सबै (भूउपग्रह) फरक देशान्तरमा रहेकाले हामीले विस्फोटनका भिन्न दृश्य प्रयोग गरी उचाइ मापन गर्न सक्छौँ “, डा. प्राउडले भन्नुभयो, “यो बादलको उचाइ मापन गर्न प्रयोग गरिने विधि हो र यो परिस्थितिमा यसले झन् राम्रो काम गर्नुपर्ने हो।”
उहाँका अनुसार ५५ किलोमिटर उचाइमा मुस्लोको सानो अंश मात्रै पुगेको देखिन्छ जुन सम्भवतः खरानी नभएर पानीको बाफ मात्रै हुनसक्छ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पनि धुँवा देखिएको थियो

धुवाँको मुस्लोको अधिकांश भाग ३५ किलोमिटर माथि पुगेको देखिएको छ
पृथ्वीबाट १०० किलोमिटरपछि अन्तरिक्ष सुरु हुने मानिन्छ।
अमेरिकी अन्तरिक्ष निकायका वैज्ञानिकहरूले विस्फोटनको शक्ति १० मेगाटन टीएनटी बराबर रहेको हिसाब गरेका छन् जसले टोङ्गाको विस्फोटन दोस्रो विश्व युद्धमा जापानको हिरोशिमामा खसालिएको आणविक बमभन्दा ५०० गुणा शक्तिशाली रहेको दर्साउँछ।


















