Prakash Adhikari January 23, 2022

 

काठमाडौं, ९ माघ । भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटको नयाँ सिजनको अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका छन्।

नेपाल क्रिकेट संघले शनिबार सार्वजनिक गरेको सूचना अनुसार अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेका हुन्। संघले दर्ताको लागि स्वीकृति दिएका खेलाडीहरुको नाम मात्र आईपीएलको अक्सनको लागि संघले दर्ता गराएको हो ।

संघले नेपालबाट सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशान भारी, अविनाश बोहरा, शरद भेषावकर, विनोद भण्डारी, कुशल मल्ल,करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले आईपीएल अक्सनमा नाम दर्ता गराएको छ।

आईपीएलको अक्सनमा नेपालका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लको नाम समावेश छैन् ।

अक्सनमा वर्तमान कप्तान एवम् लेग स्पिनर सन्दीप लामिछानेसहितका १५ जना छन्। अक्सनमा ​समावेशमध्ये हालसम्म सन्दीपले मात्रै आईपीएल खेलेका छन्।

आईपीएलको नयाँ सिजनका लागि नेपालका १५ सहित १ हजार २ सय १४ खेलाडी सामेल छन्।

नयाँ सिजनका लागि ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी अक्सनमा छन्। आईपीएलका लागि अमेरिकाबाट १४ खेलाडीले नाम दर्ता गराएका छन्।

नयाँ सिजनका लागि आगामी फेब्रुअरी १२ र १३ मा बैंगलोरमा अक्सन हुनेछ।

नयाँ सिजनमा नयाँ टिम लखनऊसहित १० टिम खेल्ने पक्का भएको छ।

Share Now

Leave a comment.