काठमाडौं, ९ माघ । नेपालमा आइतवार थप ६ हजार ४ सय ६२ जना मानिसमा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा कोभिडका कारण ४ जनाको मृत्यु भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो।
अहिलेको वृद्धिसँगै देशभरी भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० नाघेको छ।
विगत दुई सातादेखि नेपालमा कोभिड १९ सङ्क्रमण निरन्तर बढिरहेको छ।
अधिकारीका अनुसार हालै परीक्षण परिएका ३२ नमुना मध्ये २८ मा ओमिक्रोन सङ्क्रमित भेटिएका र ४ नमुनामा डेल्टा भेरिअन्ट भेटिएको छ।
परीक्षण भएका करिब आधा सङ्क्रमित
आइतवार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत एक हप्तामा गरिएको परीक्षणमा ४८.२ प्रतिशत र एन्टिजन परीक्षणमा ३५ प्रतिशतमा पोजिटिभ फेला परेका छन्।
गत साता देखि लगातार पाँच दिनसम्म दैनिक १० हजार भन्दा बढी सङ्क्रमण पुष्टि भएकोमा आइतबार ७ हजार भन्दा कममा सङ्क्रमण देखिएको हो।
विगत २४ घण्टामा १३ हजार ३ सय ७७ वटा नमुना पीसीआर विधिबाट र ४ हजार ६० वटा एन्टिजन विधिबाट गरि कुल १७ हजार ४ सय ३४ परीक्षण गरिएको थियो।
पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ५ हजार ५ सय ९८ जनामा र एन्टिजन परीक्षणमा ८ सय ६४ जनामा मा सङ्क्रमण पुष्टि भएको हो।
हाल देशभरि सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये झन्डै दुईतिहाई सङ्क्रमित काठमाडौं उपत्यकामा छन्।
सक्रिय सङ्क्रमितमध्ये ३६ हजार २ सय ३८ जना काठमाडौंमा, ८ हजार ७ सय जना ललितपुरमा र ४ हजार ९ सय ११ जना भक्तपुरमा छन्।
विगत २४ घण्टामा काठमाडौंमा २ हजार ८ सय ६८ जना, ललितपुरमा ६ सय २ र भक्तपुरमा ३ सय २१ जना नयाँ सङ्क्रमित थपिएका छन्।
त्यस्तै मोरङमा २ सय ७५ जना, झापामा १ सय ४९ जना, कास्कीमा ९४ जना, रुपन्देहीमा १ सय ४९ जना र कैलालीमा १ सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन्।
अहिले आईसीयूमा २ सय १५ जना र भेन्टिलेटरमा ७४ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १६ रहेको छ। नेपालमा कुल सङ्क्रमितमध्ये नब्बे प्रतिशतभन्दा बढी निको भएका छन्।
अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्।
कहिलेबाट घट्छ सङ्क्रमण?
डेल्टा भेरिअन्टका कारण गएको चैत वैशाखमा दोस्रो लहरमा फैलिएकोमा यसपालि ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्।
पौष १८ मा देशभरी केवल २ सय १६ जनामा कोभिड पुष्टि भएकोमा पुस २५ गतेदेखि १ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको हो।
त्यसयता दैनिक सङ्क्रमितहरूको सङ्ख्या उकालो लागिरहेको देखिन्छ।
मन्त्रालय अन्तर्गतको सरुवा रोग महाशाखाले यसै हप्ता सङ्क्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ।
बढ्दो सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा शनिवारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ।
उपत्यकामा भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै विद्यालय, सिनेमा घर, जिमखाना सहितका भिडभाड हुने सेवाहरू बन्द गरिएको छ।
घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड अनिवार्य रूपमा राख्न भनिएको छ।


















