Prakash Adhikari January 24, 2022

काठमाडौं, १० माघ । राइड सेयरिङ कम्पनी पठाओले अनलाई बुकिड.बाटमात्रै सेवा लिन र दिन सेवाग्राही सर्वसाधरण र सेवा प्रदायक सवारीबाहक दुवैलाई अनुरोध गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै पठाओले आफ्नो नेटवर्कका चालक र सर्वसाधरण यात्रु दुबैलाई पठाओ एपबाट आएको अनुरोधमा सेवा लिन र दिन आग्रह गरेको छ।

शनिबार मध्यराति एक जना पठाओ राइडरलाई बन्धक बनाएर धापाखेल पुर्‍याइ मोटरसाइकल लुटपाट गरेको घटनापछि पठाओले यस्तो अनुरोध गरेको हो ।

सो रात लुटेराहरुले पठाओ राइडरलाई कुटपिट गरी हात र मुख बाँधेर झाडीमा फालेर मोटरसाइकल लिएर एक ग्यारेजमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले लुटेराहरुलाई समातेको थियो ।

पठाओका प्रवक्ता तथा मार्केटिङ प्रमुख सुरक्षा हमालका अनुसार सो घट्नामा कुटपीटमा पर्र्नुभएका पठाओ चालक प्रविन राईले अनलाइन सेवा दिएको देखिन्न। राईले अन्तिम राइड नै सामाखुसीदेखि कोटेश्वरसम्म दिएको हमालले बताउनुभयो।

‘रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुंगिएको छ। कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध छैन,’ हमालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ,‘यसरी हेर्दा पठाओको सेवा लिँदै वा दिँदै गर्दा घटना भएको देखिँदैन। उहाँले बाटोमा भेटेका व्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो।’

पठाओ अनलाइन राइड सेयरिङ प्लेटफर्म भएको र यसको सेवा लिन र दिन मोबाइल एपमार्फत् बुकिङ गर्न आवश्यक हुन्छ।

यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडर दुबैको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण पठाओको एपमा उपलब्ध हुने पठाओले जनाएको छ।

सडकमा बसेर यात्रुलाई बार्गेनिङ गरी राइड लिने प्रवृत्तिले धापाखेलको जस्तो घटना दोहोरिने जोखिम बढ्छ ।

मोबाइल एपमार्फत् राइड रिक्वेस्ट नगरी वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरी अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण र राइड तथा सवारीको विवरण रेकर्डमा नहुने हुँदा सुरक्षा संवेदनशीलता बढ्छ।

अनलाइन राइडको समयमा कसैले गलत गरिहालेमा व्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको आइटी सिस्टममा हुने भएकाले सप्रमाण प्रहरीमा उजुरी दिन सकिन्छ र सो जानकारीका आधारमा पीडकलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई समेत सहज हुन्छ।

पठाओले राइड सेयरिङ बीमा पनि सुरू गरेको छ। पठाओ एपमार्फत् सहजीकरण गरी उपलब्ध सेवाहरू प्रयोग गर्ने सेवाग्राही तथा राइडरहरूको १ लाखसम्मको दुर्घटना उपचार बीमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा १० लाखसम्म बीमा दाबी गर्न सकिन्छ।

अफलाइन राइड लिँदा बीमा समेत सुविधा पाइँदैन

Share Now

Leave a comment.