पोखरा(कास्की), ११ माघ । त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धी थ्री स्टारलाई एक गोल अन्तरले पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
बिहीबार पोखरा रंगशालामा भएको खेलका ७० औं मिनेटमा राजीवले गरेको एक मात्र गोल निर्णायक बन्यो । राजीवले काउन्टर अट्याकमा सहज गोल गरे ।
आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।
अर्को सेमिफाइनलमा एपीएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
मछिन्द्रले संकटा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने एपीएफले भुटनिज युथ स्पोर्ट्स क्लबलाई पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको हो ।
आजको खेलमा आर्मी र थ्री स्टार दुवै आफ्ना मुख्य खेलाडीबिना मैदानमा उत्रिएका थिए । आर्मीका सुमन अर्याल, गौतम श्रेष्ठ, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् भने नवयुग श्रेष्ठ, विकास खवास र सुदिल राई चोटका कारण खेल्ने स्थितिमा छैनन् ।
त्यस्तै थ्री स्टारका अनन्त तामाङ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् भने आयुष घलान र कप्तान विक्रम चोटका कारण मैदान उत्रन पाएका छैनन् ।


















