काठमाडौं, १२ माघ । नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।
केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ भने पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ।
पुरुषभन्दा महिलाको सङ्ख्या ६ लाख ९ हजार ८ सय ५८ जनाले मात्रै बढी छ।

नतिजामा ‘अन्य लिङ्गी’हरू समेटिएका छैनन्। विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार जनगणनाको पहिलो चरणमा सङ्कलित अन्य लिङ्गीहरूको तथ्याङ्क ८ देखि ९ महिनाभित्र सार्वजनिक गरिनेछ।
विभागका अनुसार नेपालमा जनसङ्ख्या वृद्धिदर ०.९३ रहेको छ। विसं २०६८ सालको तथ्याङ्कअनुसार उक्त दर १.४० प्रतिशत थियो।
तुलनात्मक रूपमा जनसङ्ख्या वृद्धिदर घटेको विभागका उपमहानिर्देशक रेग्मीले भन्नुभयो।
”जनसङ्ख्या बढेको जस्तो देखिए पनि वृद्धिदर १ प्रतिशतभन्दा कम भएको छ। यसले नेपाल पनि विकासशील देशको सूचीमा उक्लिने सङ्केत गर्छ,” उहाँले थप्नुभयो।
नेपालमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क
कुल जनसङ्ख्या :२ करोड ९१ लाखं
महिला :१ करोड ४९ लाखं
पुरुष १ करोड ४२.९ लाखं
जनसङ्ख्या वृद्धिदर : ०.९३ प्रतिशत
विदेशमा रहेका नेपाली : २१ लाख ६९ हजारं
स्रोतः केन्द्रीय तथ्यांक विभाग
त्यस्तै जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको तथ्याङ्क छ। एक दशकअघि नेपालमा जनघनत्व १८१ जना प्रतिवर्गकिलोमिटर थियो।
बुधवार सार्वजनिक तथ्याङ्कअनुसार विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ छ।
सार्वजनिक तथ्याङ्क जनगणना गर्दा हरेक गणकलाई दिइएको ‘कन्ट्रोल बुक’ अर्थात् फारमहरू समेटिएको किताबको आवरणमा उल्लिखित विवरणमा आधारित छ।
त्यसमा जम्मा कतिवटा घर गनियो, ती घरमा कति परिवार थिए, हरेक परिवारमा कति जना महिला र कति जना पुरुष थिए र ती घरका कति जना सदस्य विदेश गएका छन् भन्नेबारे विवरण उल्लेख गरिएको थियो।
कहिले आउँछ अन्तिम नतिजा?
हाल केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको लगत प्रशोधन गर्नका लागि जनशक्ति आह्वान गरेको छ।
कुल ४ सय कर्मचारी माग गरिएकोमा १ हजार ७ सय जनाले आवेदन पेस गरेको बताइएको छ।
“हामीले कोडर र सम्पादकमा १०० जना र तथ्याङ्क प्रवेश गराउन ३०० जना डेटा एन्ट्री अपरेटर भर्ना गर्दैछौँ। हाल अन्तर्वार्ता भइरहेको छ,” रेग्मीले भन्नुभयो।

गत भदौ महिनामा काठमाण्डूमा जनगणनाका लागि घरधुरी सङ्कलनको काम गर्दै एक गणक
अन्तर्वार्ताबाट छानिएकाहरूले फारम जाँच गर्नेदेखि विवरण प्रशोधन सम्मका काम गर्नेछन्।
छ महिनाभित्र जनगणनाको अन्तिम नतिजा प्रकाशन गर्ने योजना रहे पनि कोरोनाभाइरस महामारीका कारण केही प्रक्रिया ढिला हुने जानकारी रेग्मीले दिनुभयो।
“महामारी लम्बिएन भने करिब ८ देखि ९ महिनामा विस्तृत नतिजा सार्वजनिक हुन्छ होला र अन्तिम नतिजाका लागि अझै बढी समय लाग्छ,” उहाँले बताउनुुभयो ।(बीबीसीबाट)


















