जनकपुरधाम(धनुषा), १२ माघ । आज भैरहेको राष्ट्रिय सभाको निर्वाचनलाई बिथोल्न मधेश प्रदेशमा सी.के.राउतका कार्यकर्ताले हिंसात्मक प्रदर्शन गरेका छन् ।
सी.के. राउतको जनमत पार्टीका कार्यकर्ताद्धारा मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडी आक्रमण गरेका छन् । आक्रमणबाट गाडी तोडफोड भएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि आक्रमण भएको थियो । आक्रमणबाट सांसद यादवको हातमा समेत चोट लागेको छ ।
यादव प्रदेश मामिला संसदीय समितका सभापति हुनुहुन्छ । उहाँलाई प्रदेश सभाले उपलब्ध गराएको गाडी तोडफोडमा परेको छ।
यसअघि जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले निर्वाचन केन्द्र नजिक शान्ति सुरक्षा कायम गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरबितर गरेको बताउनुभएको छ । जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाटा लिएर महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जान खोज्दा प्रहरीले रोकेपछि झडप भएको थियो ।
मेयरको गाडीमा पनि आक्रमण
जनमत पार्टीका कार्यकर्ताहरूले निर्वाचनमा मतदान गर्न जनकपुर आइरहेका सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई सवार सरकारी गाडीमाथि पनि आक्रमण गरेका छन् ।
आक्रमणमा परि मेयरसहित तीनजना घाइते भएका छन् ।
नगरपालिकाको गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेणुका पौडेल सवार हुनुहुन्थ्यो।
मतदानस्थल जाँदै गर्दा जनमतका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका ४ मा मेयरको गाडी तोडफोड गरेका हुन्।
जनमतका कार्यकर्ताको प्रदर्शनले राष्ट्रियसभा मतदान स्थल महेन्द्रनारायण निधि प्रतिष्ठान वरपरको अवस्था तनावग्रस्त बनेको छ।


















