Prakash Adhikari January 26, 2022

 

काठमाडौं, १२ माघ । नेपालमा विगत २४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार अपरान्ह जनाएको छ।

अहिलेको वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ।

तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका तीन जिल्लामा छन्।

मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार कोभिडसँग सम्बन्धित कारणले थप पाँच जनाले ज्यान गुमाएका छन्।

अहिलेको अवस्था
बुधवार अपरान्ह प्रकाशित विवरणअनुसार विगत २४ घण्टामा १३ हजार ५ सय ४९ वटा परीक्षण पीसीआर विधिबाट र ६ हजार ८ सय १० वटा एन्टिजन विधिबाट कुल २० हजार ३ सय ५९ परीक्षण गरिएको थियो।

पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ४१ प्रतिशतभन्दा बढीमा र एन्टिजन परीक्षणमा ४२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

अहिले देशभरि सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन्।

“वैशाखमा भएको डेल्टा भेरिअन्टको लहरको तुलनामा यसपालि सघन उपचार कक्षमा भर्ना हुने चारगुनाले कम र भेन्टिलेटरको आवश्यकता पर्ने बिरामी पाँचगुनाले कम देखिएको छ”, नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले भन्नुभयो।

तर यसो भन्दै गदा पनि अत्यन्तै चनाखो हुनुपर्ने स्थिति रहेको उहाँले बताउनुभयो।

अहिले आईसीयूमा २ सय ५१ जना र भेन्टिलेटरमा ४८ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ४ हजार ४ सय ३३ रहेको छ।

दुई सातादेखि निरन्तर वृद्धि

कोभिड खोप

कोरोनाभाइरस सङ्क्रमण दर बढ्दै थप मात्रा लगाउने मानिसको सङ्ख्या बढेको देखिन्छ

विगत दुई सातादेखि नेपालमा प्रत्येक दिन हजारौँ मानिसमा कोभिड१९ पुष्टि भइरहेको छ।

तीमध्येअधिकांश २१ देखि ४० वर्ष उमेर समूहका छन्।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण दर वृद्धि भइरहेको बताउँदै आएका छन्।

सामान्य लक्षण देखिएका मानिसहरू परीक्षण गर्न नगएकाले सङ्क्रमितको सङ्ख्या तथ्याङ्कले देखाएभन्दा निकै बढी भएको विज्ञहरू बताउँछन्।

हालसम्म नेपालमा ११ हजार ६ सय ७२ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट अतिप्रभावित १० देश. कुन देशमा कति कोभिड पुष्टि . ज्यानुअरी २६ सम्मको तथ्याङ्क.

Share Now

Leave a comment.