बीरेन्द्रनगर(सुर्खेत) र घनगढी(कैलाली), १२ माघ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट आज भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।
राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा आज भएको निर्वाचनमा कर्णालीबाट गठबन्धनका उम्मेदवार कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकिकृत समाजवादीका उदय बोहरा विजयी हुनुभएको हो ।
प्रदेश निर्वाचन कार्यालयकी सूचना अधिकारी निर्मला रेग्मीका अनुसार निर्वाचित गुरुङले २ हजार ९ सय ७०, विष्ट र बोहोराले समान ३ हजार ६ मतभार प्राप्त गर्नुभएको थियो । तीन मत बदर भएका थिए ।
एमालेका गंगा थापा महतले १ हजार ४ सय १६, पदमबहादुर माझीले १ हजार ३ सय ९८ र चूडामणि शर्मा १ हजार ४ सय १६ मत मात्र प्राप्त गर्नुभयो तर पराजित हुनुभयो ।
बुधबार बिहान ९ बजेदेखि प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा भएको निर्वाचनमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १ सय ५६ पालिका पदाधिकारीमध्ये १ सय ५५ जनाको मत खसेको थियो ।
सुदूरमा पनि गठबन्धनका सबै विजयी
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा रिक्त हुने तीन सिटका लागि बुधबार भएको मतदानमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी हुनुभएको छ ।
खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ मध्ये ३९ मत प्राप्त गनुभयो भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १३ मत । स्थानीय तहतर्फ कूल १ सय ७५ मध्ये मिश्रले १ सय ४ मत र ६९ भट्टले मत प्राप्त गरेका गर्नुभयो । स्थानीय तहतर्फ दुई मत बदर भए ।
दलितमा माओवादी केन्द्रका पार्कीले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १ सय ५ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६७ मत पाउनुभयो । दलिततर्फ प्रदेशसभामा १ र स्थानीय तहतर्फ ३ मत बदर भए ।
महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १ सय ९ मत ल्याउनु भयो भने एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत । महिलातर्फ प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भए ।
सुदूरपश्चिम प्रदेशसभामा ५२ जना मतदाता रहेकोमा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १र१ जना मतदाता थिए ।
स्थानीय तहतर्फ १ सय ७५ मतदाता थिए । ती मध्ये नेपाली कांग्रेसका ७४ जना, नेकपा एमालेका ७१ जना, माओवादी केन्द्रका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता थिए ।


















