विराटनगर(मोरड.), १२ माघ । प्रदेश १ मा सत्तारूढ गठबन्धनका जयन्ती राई र गोपाल बस्नेत राष्ट्रिय सभामा निर्वाचित हुनुभएको छ।
राई बढी मतभार हासिल गरेर निर्वाचित हुनुभएको हो भने बस्नेतले गोला प्रथामा प्रतिस्पर्धीलाई हराउदै विजय पाउनुभएको हो ।
बराबर मत आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो।
निर्वाचनमा बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याउनुभएको थियो।
बराबर मत आएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट विजयी टुंग्याउने निर्णय गरेका थिए।
नेता बस्नेतलाई २०७४ सालको प्रतिनिधिसभा निर्वाचन समाप्त भएपछि तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा(जो अहिले पनि प्रधानमन्त्री नै हुनुहुन्छ)ले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गर्ने ३ सीटमा सिफारिस गर्नुभएको थियो । तर निर्वाचनमा बाम गठबन्धनको बहुमत आएको र एमालेका अध्यक्ष के.पी. शर्मा ओली प्रधानमन्त्री हुने निश्चित देखेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिस रोकेर ओली प्रधानमन्त्री भएपछि उहाँको सिफारिसमा तीन जना मनोनित गर्नुभयो ।
प्रदेश १ मा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित हुनुभएको छ। उहाँले प्रदेशसभाको ५२ र स्थानीय तहको १ सय २२ जनप्रतिनिधिको मत पाउनुभयो। अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी पाउनुभएको थियो।
महिला सदस्यमा उहाँकी प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १ सय ४१ जनप्रतिनिधिको मत पाउनुभयो। उहाँको मतभार ४ हजार ३ सय ६२ पुग्यो। राप्रपाकी रञ्जु प्याकुरेलले प्रदेश सभामा १ र स्थानीय तहमा ४ गरी १ सय २० मतभार प्राप्त गर्नुभयो।
अल्पसंख्यकको कोटामा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराँउदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी हुनुभएको छ ।
उहाँले प्रदेशसभाका ४२ जना र स्थानीय तहका १ सय ५२ जना जनप्रतिनिधिको मत हासिल गर्दै ४ हजार ७ सय ५२ मतभार पाउनुभयो । जवकी गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका १ सय १३ जनाको मत हासिल गरी ४ हजार ३ सय ८६ मतभार पाउनुभएको थियो ।


















