काठमाडौं, १३ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरुमाथि गरेको अनुशासनको कारबाही फिर्ता लिएको छ ।
अगामी फेब्रअरीमा ओमानमा हुने टी २० विश्वकप क्वालिफायर र चतुष्कोणीय टी २० सेरिजको पूर्वसन्ध्यामा क्यानले आफ्नो गल्ती सच्याएको हो ।
क्यानको यो निर्णयले सम्पूर्र्ण क्रिकेट खेलाडीहरुको आत्मसम्मान र आत्मबल बढाउन महत्वपूर्ण योगदान गरेको देखिएको छ । क्यानले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई गरेको कारबाही फिर्ता लिएको छ भने खेलाडीको वर्र्गीकरणमा भएको कमजोरीलाई पनि सच्याएको छ ।
क्यानले गत मंसिर २९ गते अनुशासन उल्लघंन गरेको भन्दै तात्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो। साथै मल्लसहित चार खेलाडीलाई यसअघि ६ महिनाका लागि केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो।
क्यानले अपनाएको खेलाडीहरुको वर्गीकरण र करार संझौताको शैलीसंगको असन्तुष्टि सार्वजनिक सञ्चारमाध्यममा व्यक्त गरेको भन्दै क्यानले गठन गरेको अनुशासन उल्लङ्घन छानबिन समितिले खेलाडीहरुलाई कारबाही गर्नुपर्ने सिफारिस दिएको थियो । सोही सिफारिस बमोजिम ४ जना खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौताको सुरुको ६ महिनाको लागि सहभागी नगराउने र कप्तान र उपकप्तानलाई जिम्मेवारीबाट हटाउने निर्णय क्यानले लिएको थियो ।
आफ्नो समूहका खेलाडीमाथि भएको अन्यायका विरुद्ध क्यानमा आवाज उठाएर सुनुवाई नभएपछि सञ्चारमाध्यमको सहारा लिएका क्रिकेट नेतृत्वमाथि भएको कारबाहीको चौतर्फी आलोचना हुनुको साथै विश्वकप क्वालिफायरको बन्द प्रशिक्षणमा उपस्थित हुन आधा खेलाडी अनिच्छुक देखिएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी भए कार्यसमिति बैठकले उक्त कारबाही फिर्ता लिने आश्वासन दिनुभएको थियो।
सोही प्रतिबद्धता अनुरुप बिहिबार बसेको क्यानको बैठकले कारबाही फिर्ता लिएको हो।
क्यानले कारबाही फिर्ता लिनुको साथै यसअगाडि ‘बि’ ग्रेडमा राखिएका सोमपाललाई पुनः ‘ए’ ग्रेटमा स्तरोन्नति गरेको छ।
यस्तै क्यानले ओमान भ्रमणमा परेका तर अनुबन्धनमा नरहेका गुल्शन झा, विक्रम सोब र रोहितकुमार पौडेललाई जनही एक लाख र महिला क्रिकेटर ज्योति पाण्डेलाई ५० हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरेको छ।
क्यानले राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि १ लाख ५० हजार सहयोग गर्ने निर्णय पनि गरेको छ।
यस्तै पुरूष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको छ।
क्यानको यो निर्णयले खेलाडीहरुको मनोबल बढाउने विश्वास गरिएको छ । खेलाडीमाथि कारबाहीको तरबार चलाएको बेलामा केही समय पहिले भएको प्रधानमन्त्री कपमा राष्ट्रिय क्रिकेट प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको प्रदर्शन जम्न सकेको थिएन ।
क्यानको सुधारिएको वर्गीकरण
पुरूष खेलाडीतर्फ
ग्रेड ए : सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरि, सोमपाल कामी र करण केसी
ग्रेड बी: कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी
ग्रेड सी: कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऎरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ
महिला खेलाडीतर्फ
ग्रेड ए : रुबिना छेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी
ग्रेड बी: सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे
ग्रेड सी: डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल


















