काठमाडौं, १३ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा २०७८ माघ १४ गते दिउँसो ३ः०० बजे बस्ने भएको छ ।
नेपाली काग्रेसका मुख्य सचिव तथा नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार कार्य सम्पादन समितिको गठनक लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।
सभापति देउवाले पार्टीको निर्णय छिटो छरितो ढंगले गर्न कार्य सम्पादन समितिको गठनलाई उच्च प्राथमिकता दिनुभएको हो ।
नेपाली कांग्रेसके केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुने व्यवस्था छ । मेचीदेखि महाकालीसम्म ७७ा जिल्लामा छरिएका कार्यसमितिका सदस्यहरुको नियमित बैठक छिटो बस्न संभव नहुन भएकोले कार्य सम्पादन समितिको गठन अपरिहार्य बनेको हो ।
विधानअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री कार्यसम्पादन समितिमा पदेन सदस्य हुन्छन्।
सभापतिले केन्द्रीय सदस्यमध्येबाट कार्यसम्पादन समितिका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर ३१ जनाको नाम प्रस्ताव गर्ने र बहुमतले पारित गर्ने विधानको व्यवस्था छ। कार्यसम्पादन समिति बैठक कम्तीमा महिनामा एक पटक बस्नुपर्ने हुन्छ।
कांग्रेस केन्द्रीय कार्यसमिति १ सय ६७ सदस्यीय हुने व्यवस्था छ। त्यसमध्ये १ सय ३४ जना प्रत्यक्ष निर्वाचित हुने र बाँकी ३३ जना पार्टी सभापतिले समावेशिताको सिद्धान्त बमोजिम मनोनित गर्ने व्यवस्था छ । त्यसमध्ये सभापति देउवाले पछिल्लो समय १३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ ।
शुक्रबार हुने केन्द्रीय समितिको बैठकमा भातृ तथा शुभेच्छुक संघसंस्था र जिल्ला अधिवेशन रोकिएका १६ जिल्लाको संगठनको अवस्थामा पनि छलफल हुने बताइएको छ।
नेपाल तरूण दल, नेविसंघ, मुश्लिम संघलगायतका भातृ संगठनका सभापतिहरू पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका छन् । विधानअनुसार केन्द्रीय सदस्य भएपछि भातृ संस्थाका पद स्वतः खारेज हुन्छ।


















