Prakash Adhikari January 29, 2022

काठमाडौं, १५ माघ । नेपालले आज अफ्रिकी देश मोरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ।

मोरिसस र नेपालको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४ : ४५ बजे सुरु हुनेछ।

दुवै टिम विजयको लक्ष्य लिएर मैदान उत्रिने छन्।

नेपालले अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने लक्ष्य लिएको छ।

खेलको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताउनुभएको छ।

पत्रकार सम्मेलनमा नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले आफ्नो टिमको सबै तयारी पूरा भएको बताउदै मोरिससको सामना गर्दा आफ्नो टिमले यस अगाडिका कमजोरीलाई सच्याएर खेल्ने उल्लेख गर्नुभयो ।

सहायक प्रशिक्षक श्रेष्ठले भन्नुभयो, ‘यसअघिका खेलमा टिमले जे जस्तो भुल गरेको थियो, त्यसको हामीले विश्लेषण गर्नेछौं र त्यसलाई सच्चाउने प्रयास गर्नेछौं । हामी पक्कै पनि जितका लागि खेल्नेछौं ।’

पत्रकार सम्मेलनमा अनुउपस्थित नेपाली प्रशिक्षक अबदुल्लाह अलमुताइरीले सामाजिक सञ्जालमा नै मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताइसक्नुभएको छ । उहाँ स्वास्थ समस्याका कारण पत्रकार सम्मेलनमा उपस्थित नभएको सहायक प्रशिक्षकले किरण श्रेष्ठले बताउनुभएको छ।

श्रेष्ठले अफ्रिकी देश भएकाले खेलाडीहरु शारीरिक हिसाबमा नेपालीभन्दा बलिया हुने भएकोले नेपाली टिमले संयमित र सन्तुलित खेल्ने बताउनुभएको छ।

यस्तै‚ मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आफूभन्दा बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताउनुभयो।

मोरिससको प्रशिक्षक टोनी फ्रान्कोइसले आफ्नो घरेलु मैदानमा नेपाल बलियो प्रतिद्वन्द्वी हुने उल्लेख गर्नुभयो । ‘हामी ४५ दिनको तयारीपछि मात्र नेपाल आएका छौं । हाम्रो राष्ट्रिय टिमले साढे दुई वर्षपछि पहिलो पल्ट खेल्दैछ । त्यसैले हामीलाई पक्कै पनि सजिलो हुने छैन् । हामीलाई थाहा छ, नेपाल बलियो टिम हो ।’, मोरिसस प्रशिक्षक टोनी फ्रान्कोइसले भन्नुभयो ।

उहाँले नेपालले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा गरेको प्रदर्शनका केही खेलको विश्लेषण आफ्नो टिमले गरेको बताउदै भन्नुभयो, ‘हाम्रो टिम नयाँ छ र हाम्रा केही खेलाडी भर्खर मात्र राष्ट्रिय टिममा प्रवेश गरेका छन् । हामी अहिले अफ्रिकी कप अफ नेसन्सको तयारीका लागि नेपाल आएका छौं र राम्रो खेल्न सक्नेमा विश्वस्त छौं ।

नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।

एन्फाले खेल हेर्नका लागि सामाजिक दूरी कायम गर्दै एक तिहाई दर्शकलाई प्रवेश अनुमति दिँएको छ।

प्रवेशका लागि दर्शकले अनिवार्य पूर्ण खोप लगाएको हुनु पर्नेछ भने रंगशालाको गेटमा नै एन्फाले एन्टिजेन परीक्षण गर्न जनाएको छ।

यस्तो छ नेपाली टिम

किरण चेम्जोङ, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदिप गुरुङ, सुमन लामा, ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ ।

 

Share Now

Leave a comment.