काठमाडौं, १५ माघ । नेपाल र दक्षिण अफ्रिकी मुलुक मोरिससबीच आज भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाली राष्ट्रिय टिम १ -० ले विजयी भएको छ ।
नेपालका लागि विमल घर्ती मगरले गरेको एक मात्र गोल ९० मिनेटको खेलका लागि निर्णायक बन्न पुगेको थियो ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टको पासमा विमलले ५५ औं मिनेटमा गोल गरेका थिए ।
२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन पश्चात् भएको पहिलो खेलमै गोल गरेर आफ्नो देशलाई बिजयी बनाएका हुन् ।
सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राखेर अवसर दिएका थिए । विमलले प्रशिक्षकको मात्र हैन नेपाली दर्शकको पनि मन राखे । उनले शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि जिते ।
नेपालका लागि विमलको यो नवौँ गोल हो । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लो पटक गोल गरेका थिए ।
यस्तै यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठको पनि पनि राष्ट्रिय टिममा पुनरागमन भएको छ । देवेन्द्रले शुरुमा मैदानमा उत्रे भने जगजित दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
शनिबारको खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरेका छन् ।
पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेको दुई प्रहार पोष्ट माथिबाट बाहिरियो । यस्तै अन्जन विष्टले दुई अवसर सदुपयोग गर्न सकेनन् । यसैगरी सुनिल बलको फ्रिकिक बाहिरियो ।
नेपालले दोस्रो हाफमा थप दुई गोल गर्ने अवसर गुमाएको थियो । अञ्जन विष्टको हेडर बारमा लागेर फर्किँदा जगजित श्रेष्ठको हेडर मोरिससका गोलकिपर कप्तान केभिनले बचाएका थिए।
नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।


















