पोखरा(कास्की), १५ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताके उपाधि पहिलो पटक सशस्त्र प्रहरी बल फुटबल क्लब(एएफसी)ले जितेको छ ।
आहा रारा गोल्ड कपको २०औँ संस्करण अन्तरगत शनिवार भएको खेलमा साविक विजेता मनाड. मर्स्याड.दी क्लबलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्दै सशस्त्र प्रहरी बलले पहिलो पटक उपाधि जितेको हो ।
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा निर्धारत समयमा २ -२ गोल भएर थप समयमा कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

१४ वर्षपछि फाइनल खेलेर उपाधि चुमेको एपीएफले १० लाख १ हजार रुपैयांँ पुरस्कार पाएको छ।
विगतमा ६ पटकसम्म उपाधि जितेको र सातौं पटक जित्ने लक्ष्य लिएको मनाड.ले भने उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ । उसले रु ५ लाख १ हजार पुरस्कार पाएको छ।
रोमाञ्चक खेल
ट्राइब्रेकरमा अफिज ओलावालेको प्रहार गोलरक्षकले बचाएपछि सातौँपटक उपाधि जित्ने अवसर मनाड.बाट सशस्त्रले खोसेको हो।
पोखरा रंगशालामा भएको २०औँ संस्करणको फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ को बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
थप गरिएको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइब्रकेरबाट लिइएको हो।

ट्राइब्रेकरमा मनाङका लागि फ्याङकिन कुइटे, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्न सफल भए।
अफिज ओलावालेको प्रहार एपीएफका गोलरक्षकले बचाए।
एपीएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्ड विनोङ गोल गर्न सफल भए।
खेलको २०औँ मिनेटमा युवराज खड्काको गोलमा एपीएफले सुरुवाती अग्रता बनाएको हो।
खेलको तेस्रो मिनेटमा ने मनाङका राजेश परियारको प्रहार एपीएफका गोलरक्षक कुरियामा युजाले बचाएका थिए।
खेलको सुरुवातबाटै आक्रामक रुपमा प्रस्तुत भएको एपीएफले पाँचौँ मिनेटमा कप्तान नवीन लामाको फ्रि किक युवराज खड्काको हेडर पहिलो बारको नजिकैबाट बाहिरिएको थियो।
२५औँ मिनेटमा अर्मान्ड विडोउमको हेडर पोस्टको माथिबाट बाहिरियो।
३४औँ मिनेटमा मनाङका राजेशकै फ्रिकिक पोस्टको माथिबाट बाहिरिँदा बराबरीको मौका चुकायो।
खेलको ६७औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा दयानन्द सिंहले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
८७औँ मिनेटमा मनाङका विश्व अधिकारीको फ्रिकिकमा फ्रयाङकलिन कुइटीले गोल गर्दै मनाङलाई २–१ को अवस्थामा ल्याए।
इन्ज्युरी समयको पहिलो मिनेटमै एपीएफका रवि थिङले गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याए।
मनाङ र एपिएफ आहा राराको २० औं संस्करणमा आइपुग्दा ६ पटक भिडेका छन् । मनाङ र एपीएफ अहिलेसम्म चौथो, ५ औं, ८ औं, ९ औं, १७ औं र २० औं आहारारा गोल्डकपमा आमनेसामने भएका हुन् । जसमा सशस्त्र पुलिसले २ खेलबाहेक ४ मा हार व्यहोरेको छ ।
प्रशिक्षक थापाको संयोग
१८ वर्षअघि मनाड.ले दोस्रो आहारारा गोल्डकपको उपाधि जित्दा कुमार थापाले टोलीको कप्तानी सम्हालेका थिए ।
त्यतिबेला थापा कप्तानीको मनाड.ले नेपाल पुलिस क्लबलाई फाइनलमा ३–१ ले हराउँदै पहिलो पटक आहारारा गोल्डकप उपाधि उचालेको थियो ।
मनाड.लाई लागि ऐतिहासिक जित दिलाएको ठीक १८ वर्षपछि थापाकै प्रशिक्षणमा एपीएफ सोही मनाङसँग भिड्न फाइनल प्रवेश गरेको हो । थापाले यसै सिजनदेखि एपीएफको प्रशिक्षकको भूमिका सम्हालेका हुन् ।
एपीएफको टिम सम्हालेसँगै विदेशी खेलाडीलाई पहिलो पटक विभागीय टिममा समेत ल्याउँदै लिग खेलाउने प्रशिक्षक बनेका छन् । प्रशिक्षकको रुपमा पहिलो पटक आहा राराको उपाधि जित्दै उनले नयाँ इतिहास रचेका छन् ।


















