Prakash Adhikari January 29, 2022

काठमाडौं, १५ माघ । सरकारले आजदेखि पाँच दिनसम्म देशभरका विद्यालयमा विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय खुलाई सबै विद्यार्थीलाई खोप लगाउन आग्रह गरेको हो।

सरकारले पछिल्लो समय कोरोना संक्रमण बढेपछि गत पौष २७ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।
तर कोरोनाको संक्रमण बढ्दै गएको र शैक्षिक शत्र बिथोलिने जोखिम बढेकोले मन्त्रालयले माघ १० गते एक सूचना जारी गर्दै माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो।

विद्यार्थीले खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ।

कोरोना संक्रमण कायमै रहेकाले कोभिड–१९ व्यवस्थापन समन्वय समितिले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

शुक्रबार बसेको सिसिएमसीको बैठकले शिक्षक संस्थाहरू भौतिक रूपमा माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको प्रवक्ता तथा सहसचिव सुनिता नेपालले जानकारी दिनुभएको छ।

उहाँका अनुसार शिक्षण संस्थाहरूले वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्न भने सक्नेछन्।

‘हामीले शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरे पनि वैकल्पिक र अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्न भनेर सिफारिस गरेका छौं,’ नेपालले भन्नुभयो।

यस्तै, कोरोना फैलिएपछि विश्वविद्यालयले सञ्चालन गरेका परीक्षाहरूमा पनि असर परेको थियो। विश्वविद्यालयहरुले सञ्चालनमा रहेका परीक्षालाई स्थगित गरेका छन् ।

अब त्यसलाई पनि स्वास्थ्यका मापदण्डहरू पालना गरी सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सीसीएमसीले सिफारिस गरेको छ ।

यसैगरी सार्वजनिक यातायातको लागि जोरबिजोर प्रणाली हटाउन सिफारिस भएको छ।

निजी सवारी साधन र ट्याक्सीको हकमा भने जोरबिजोर प्रणाली कायम गर्न सिफारिस भएको छ।

यस्तै, यसअघि सिफारिस गरिएका डान्स बार, सिनेमा हल, क्लब लगायतलाई माघ १५ गते गतेसम्म बन्द गरिएकोमा माघ मसान्तसम्म लम्ब्याउन सिफारिस गरिएको छ।

 

Share Now

Leave a comment.