Prakash Adhikari January 29, 2022

 

काठमाडौं, १५ माघ । पछिल्लो साता निरन्तर ओरालो लागिरहेको कोरोनाभाइरसको सङ्क्रमण दर शनिवार माघ १ गते नजिककै अवस्थामा झरेको छ।

तर परीक्षण पनि घटेका कारण सङ्क्रमण घट्दै गएको भनेर ढुक्क हुन सकिने अवस्था अझै नआइसकेको अधिकारीहरूले बताएका छन्।

अघिल्लो साताको अन्त्यमा परीक्षण गराउनेमध्ये आधा भन्दा बढीमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो। तर यो साताको अन्त्यमा सङ्क्रमण दर घटेर परीक्षण गराउनेमध्ये एक तिहाइ भन्दा कममा सङ्क्रमण पुष्टि भएको छ।

माघ १ गते ३१.८ प्रतिशत रहेको सङ्क्रमण दर त्यसयता निरन्तर बढेर माघ ८ गते ५०.८ प्रतिशतसम्म पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

माघ १० गतेपछि भने निरन्तर घट्दै गएको सङ्क्रमण दर शनिवार ३३.७ प्रतिशतमा झरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि केही दिनयता घट्दै गइरहेको देखिन्छ।

माघ ११ गते १२ हजार ८ नयाँ सङ्क्रमित पुष्टि भएयता नयाँ सङ्क्रमितहरूको सङ्ख्या निरन्तर घटिरहेको तथ्याङ्क छ।

आइतवार ४ हजार ९ सय ४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमित भन्दा निको हुनेको सङ्ख्या बढी छ। यो अवधिमा ५ हजार ९ सय २४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमण घट्दो दर
मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले पछिल्लो समय सङ्क्रमण घटेको बताउनुभयो।

“अहिलेको हिसाबले यसपछि घट्दै जाने नै देखिएको हो”,पौडेलले भन्नुभयो, “यही नै रेन्जबाट थप घट्दै जाला नै भन्ने आकलन हो। थप नयाँ भेरिअन्ट आएन वा भिड हुने गतिविधि बढेनन् भने अब नबढ्ला।”

कोभिड

कोभिड

सङ्क्रमण दर र सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको छ।

माघ १ गते देशभर २१ हजार ५ सय ८४ जना सक्रिय सङ्क्रमित थिए। ओमिक्रोनको लहरसँगै सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढेर माघ १३ गते ९० हजार ५ सय ७६ सम्म पुगेको थियो।

शनिवारको तथ्याङ्क अनुसार देशैभर सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ८७ हजार ३ सय २९ छ।

तीमध्ये आधा भन्दा बढी सङ्क्रमित काठमाडौं उपत्यकामा छन्।

विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण हालसम्म ११ हजार बढीले ज्यान गुमाइसकेका छन्।

नेपालमा मृत्यु दर १.४ प्रतिशत छ भने पछिल्लो तथ्याङ्क अनुसार निको हुने दर करिब ९० प्रतिशत छ।

सङ्क्रमणघट्नुका कारण

खोप

यो वर्षको सुरुमा डेल्टा भेरिअन्टका कारण फैलिएको दोस्रो लहरमा अस्पतालहरूमा समेत चाप धेरै हुनुका साथै मृत्युदर पनि उच्च पुगेको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक गरेको नमुना परीक्षणमा नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरिअन्ट देखिएको छ।

विज्ञहरूले यो भेरिअन्ट डेल्टाको तुलनामा छिटो फैलने भए पनि कम घातक भएको बताउँदै आएका छन्।

सङ्क्रमण पछि लक्षण देखिने र निको हुने अवधि पनि कम रहेका कारण ओमिक्रोन भेरिअन्टको लहर छिट्टै ओरालो लागेको अधिकारीहरू बताउँछन्।

“आवागमनमा थोरै भए पनि नियन्त्रित छ र ठूला भिडभाड हुने गतिविधिमा रोक लगाइएका कारण पनि यो सङ्क्रमणलाई नियन्त्रित गर्न केही सहयोग पुर्‍यायो”, महाशाखा प्रमुख पौडेलले भन्नुभयो।

डेल्टा भेरिअन्ट लहरको तुलनामा अहिले खोप लगाउने मानिसहरूको सङ्ख्या पनि धेरै भएका कारण यसको जोखिम कम भएको हुनसक्ने ठानिएको छ।

“अर्को चाहिँ यसमा धेरैलाई सामान्य लक्षण मात्रै देखिएका कारण परीक्षण गराउन जानेहरू पनि कम नै भए”, डा. पौडेलले भन्नुभयो।

शनिवारसम्म नेपालमा जनसङ्ख्याको ४५ प्रतिशत बढीले पूर्ण मात्रा र ५४ प्रतिशत बढीले एक मात्रा खोप लगाएका छन्।

मिसाएर खोप दिइने
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले पहिलो मात्रा जुनसुकै खोप लगाएकाहरूलाई पनि दोस्रो वा बूस्टर मात्रामा कोभिशील्ड वा आस्ट्राजेनेका खोप दिने भएको छ।

कोभिशील्ड वा आस्ट्राजेनेका दुवै एउटै तत्त्व राखेर बनाइएका तर फरक कम्पनीबाट उत्पादित खोप हुन्।

महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरू र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसका आधारमा यस्तो निर्णय लिइएको जनाएको छ।

पछिल्लो समय नेपालमा भेरोसेलको खोप अभाव भएको बताइएको थियो। विदेशमा पहिलो मात्रा अन्य खोप लगाएकाहरूलाई पनि अब नेपालमा दोस्रो मात्रा कोभिशील्ड वा आस्ट्राजेनेका खोप दिइने भएको छ ।(बीबीसीबाट)

Share Now

Leave a comment.