वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १६ माघ(बीबीसी) । अमेरिकी सैन्य प्रमुख मार्क मिलीले युक्रेनमाथि रुसी हमला ‘भीषण हुन सक्ने’बताउनुभएको छ ।उहाँले त्यसबाट ठूलै सङ्ख्यामा हताहती हुन सक्ने जोखिम देखिएको पनि बताउनुभएको छ ।
जनरल मिलीले युक्रेन सीमा नजिकै १ लाख रुसी सेनाको उपस्थिति शीत युद्ध यताकै सबभन्दा ठूलो भन्नुभएकोछ।
तर अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले कूटनीतिको माध्यमबाट अझ पनि द्वन्द्व रोक्न सकिने बताउनुभएको छ। रुसले आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ र युक्रेनलाई उपलब्ध अमेरिकी सहयोग खतरा रहेको बताउँछ।
एउटा प्रेस कन्फरेन्समा शुक्रवार जनरल मिलीले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसी फौजको सङ्ख्याको अर्थ ,आक्रमण भएमा गम्भीर परिणाम हुने बताउनुभएको थियो। मिली अमेरिकी राष्ट्रपति जो बाइडनका सबभन्दा उच्च सैन्य सल्लाहकार हुनुहुन्छ।
अमेरिकी दुईवटै सेनाका अध्यक्ष रहनुभएका मिलीले भन्नुभयो, “यदि आक्रमण भयो भने त्यो असाध्यै ठूलो हुनेछ र त्यसबाट ठूलो सङ्ख्यामा मानिसको ज्यान जानेछ।”, उहाँले भन्नुभयो,”घना शहरी क्षेत्रमा हुने लडाइँ ‘भीषण र डरलाग्दो’ हुनेछ।”
“अपरिहार्य होइन”
अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले युक्रेनले आफै बचाउ गरोस् भनेर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले थप हतियार उपलब्ध गराउन सकिने पनि बताउनुभयो।
“द्वन्द्व अपरिहार्य छैन, अहिले पनि कूटनीतिका लागि ठाउँ छ”, अस्टिनले राष्ट्रपति पुटिनलाई तनाव घटाउन आग्रह गर्दै भन्नुभएको छ।
उहाँले भन्नुभयो, “यो अवस्था तनावमा परिवर्तन हुनुपर्ने कुनै कारण छैन‘ पुटिनले आफ्ना फौज फिर्ता जान आदेश दिन सक्छन्।”
शुक्रवार राष्ट्रपति बाइडनले छिटै पूर्वी युरोपमा नेटो उपस्थिति बलियो बनाउन सानो सङ्ख्यामा सैनिकहरू पठाउने बताउनुभएको थिये। उहाँले ती सैनिकहरू कहाँ पठाइने हो त्यो भने बताउनुभएन।
युक्रेनलाई नेटोको सदस्य नबनाइयोस् भने मस्कोको मुख्य माग अमेरिकाले अस्वीकार गरेको छ तर आफूले रुसलाई ुगम्भीर राजनीतिक मार्ग प्रस्ताव गरेकोु जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सुरक्षा चासोलाई बेवास्ता गरेको आरोप पश्चिममाथि लगाउनुभएको छ। तर उहाँले केही गर्ने निर्णय गर्नु अघि अमेरिकी प्रतिक्रियाको अध्ययन गर्ने बताउनुभएको छ।
आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गर्नुभएकोछ।
निकट भविष्यमा आक्रमण हुने चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको उहाँले सञ्चारकर्मीहरूलाई बताउनुभएको छ।
बिहिवार अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आफ्नो विश्वास रहेको बताउनुभएको थियो।
तर रुसले भने आक्रमणको योजना अस्वीकार गर्दै आएको छ। शुक्रवार रुसी विदेश मन्त्रीले मस्कोले युद्ध नचाहेको बताउनुभएको थियो।
रुसले युक्रेनसँगको सीमा नजिकै १ लाख सेना तैनाथ गरेको छ। जेलेन्स्कीले गत वर्षको रुसी सैन्य उपस्थितिको तुलनामा अहिले बढी खतरा नदेखेको बताउनुभएको छ।
नेटोको उपस्थिति बलियो बनाइँदै
शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त क्षेत्रमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको उपस्थिति बलियो बनाउन सेनाको सानो टुकडी पूर्वी युरोपमा पठाउने बताउनुभएको थियो।
उहाँले सेनाको उपस्थिति कहाँ हुनेछ वा उनीहरू कहिले त्यहाँ पुग्नेछन् भन्ने विषय भने स्पष्ट पार्नुभएन।
यसै हप्ता करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले जनाएको थियो।

रुस -युक्रेन सीमाक्षेत्रमा रुसी ट्याङ्कर
अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मुख्य मागलाई अस्वीकार गरिदिएको छ र समाधानका लागि रुसलाई ‘गम्भीर कूटनीतिक बाटो’ प्रस्ताव गरिरहेकोमा जोड दिएको छ।
पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सुरक्षा चासोलाई पश्चिमा राष्ट्रहरूले बेवास्ता गरेको आरोप लगाउनुभएकोछ।
तर पुटिनले भावी बाटो तय गर्नु अघि अमेरिकाको प्रतिक्रियालाई अध्ययन गर्ने बताएको उहाँका फ्रान्सेली समकक्षीसँग भएको टेलिफोन वार्ता पश्चात् क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
आक्रमण भए रुसको अर्थतन्त्रलाई निशाना बनाइने
यसअघि अमेरिकाले युक्रेनमाथि आक्रमण गरिए रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने अमेरिकाले चेतावनी दिएको थियो।
नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो। बिहीवार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।

रुस र पश्चिम युरोप जोड्ने पाइपलाइनको फाइल फोटो
पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गर्छ।
अमेरिकी प्रशारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भन्नुभयो,”म एकदमै प्रस्ट भन्न चाहन्छु, यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन।”
तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उहाँले उल्लेख गर्नुभयो।
विदेश मन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताउनुभएको छ।


















