काठमाडौं, २५ फागुन । नेपाली फिल्म ‘हुर्रे’, ‘मंगलम’ र ‘गाजाबाजा’ आजदेखि एक साथ प्रदर्शनीमा आएका छन् ।
नवल नेपाल निर्देशित ‘मंगलम’, यम थापाको ‘हुर्रे’ र गणेश देव पाण्डे निर्देशित ‘गाजाबाजा’ देशभरका हलमा व्यापारिक प्रतिस्पर्धा मा उत्रिन तयार भएका छन् ।
यी तीनवटै फिल्म फरक जनराका छन् । नेपाली फिल्मको स्वाद चाख्ने दर्शकले छानेर फिल्म हेर्ने बानीले यसको प्रत्यक्ष असर यी तीनै फिल्मको व्यापारमा पर्नेछ ।
बाघ निर्माताको रुपमा चिनिएका छविराज ओझा निर्मित २३ औँ फिल्म ‘मंगलम’ मा शिल्पा पोख्रेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।
पारिवारिक प्रेमकथामा आधारित उक्त फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ ।
‘मालतीको भट्टी’ र ‘मञ्जरी’ फिल्म निर्देशन गरिसकेका गणेशको ‘गाजाबाजा’ ले कुलतमा फसेका युवाहरुको कथा बोल्छ । लामो समय यो फिल्म नामका कारण विवादमा फसेको थियो ।
अन्ततः नामको माथी रहेको चन्द्रविन्दु हटाएपछि फिल्मले प्रदर्शनका लागि अनुमती पाएको हो । सेन्सर बोर्डबाट ‘एडल्ट’ सर्टिफिकेट पाएको उक्त फिल्म १६ वर्षभन्दा कम उमेरका बालबालिकाले हेर्न पाउने छैनन् ।
फिल्ममा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बालगायतको अभिनय रहेको छ । यो मल्टिप्लेक्स स्क्रिन लक्षित फिल्म हो ।
याकोपो रास्लिकले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी फिल्मका निर्माता हुन् । टुका इन्टरटेन्टमेन्ट र डिआर फिल्मसको व्यानरमा फिल्म निर्माण भएको हो ।
यस्तै, स्क्रिप्ट राईटर यम थापाको ‘हुर्रे’ दोस्रो निर्देशकीय फिल्म हो । कमेडी जनरामा बनाइएको फिल्मको कथा निर्देशक थापा आफैंको हो । अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खडका लगायतका कलाकारहरु फिल्ममा लिड रोलमा छन् ।
दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’ मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ दोर्जे लामाको लगानी रहेको छ । प्रायः भिलेन चरित्रमा देखिँदै आएका अनुपविक्रम भने यसपटक पण्डित .महाराज’ बनेका छन् ।