काठमाडौं, २५ फागुन । राष्ट्रियसभामा राष्ट्रपतिद्वारा मनोनित तीन सदस्यले शुक्रबार शपथ ग्रहण गरेका छन्।
ज्येष्ठ सदस्यको नाताले राष्ट्रियसभाको अध्यक्षता गरिरहेकी तारादेवी भट्टले शपथ अर्थमन्त्री डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई शपथ ग्रहण गराएकी हुन्।
राष्ट्रपतिद्वारा मनोनित तीन जनालाई सर्वोच्च अदालतमा शपथ ग्रहण नगराउनु भनेर रीट परेपछ उनीहरूको शपथ रोकिएको थियो।
तीनै जनाविरुद्ध परेको रिटमा जारी गरिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो।
आज शपथ ग्रहण गरेका तीन जना माननीयले राष्ट्रपति निर्वाचनमा भने मतदान गर्न नपाउने भएका छन्।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली यसअघि नै प्रकाशित गरिसकेको छ।त्यसमा दावी विरोध गर्ने समय सकिएको छ ।