Prakash Adhikari February 4, 2022

काठमाडौं, २१ माघ । काठमाडौं-तराई फास्ट ट्रयाकलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि १ खर्ब ७५ अर्ब रुपैया थप लाग्ने भएको छ ।

काठमाडौं तराई फाष्ट ट्याकको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिको बैठकपछि सभापति रामनारायण बिडारीले सो कुरा बताउनुभएको हो ।

समितिको बिहीबार बसेको बैठकपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै समिति सभापति विडारीले द्रुतमार्ग सम्पन्न गर्नका लागि हालसम्म खर्च भइसकेको बाहेक थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको र त्यति रकमको स्रोत सुनिश्चित नहुञ्जेल काम अगाडि बढेमा काममा अवरोध हुने भएकाले रकम सुनिश्चितताका लागि सरकारका सम्बन्धित सरोकारवाला मन्त्रालयहरूसँग छलफल गरिने बताउनुभयो।

‘यसलाई २०८१ सालसम्ममा सम्पन्न गर्ने नेपाल सरकारको लक्ष्य छ। तर अहिलेको काम गराइको ढाँचा र हाम्रो स्थलगत निरीक्षणमा २०८१ मा यो आयोजना सम्पन्न हुनसक्ने कुरामा शंकाहरू उत्पन्न भएका छन्’, सभापति बिडारीले भन्नुभयो,खासगरी वन मन्त्रालय, भौतिक तथा पूर्वाधार निर्माण मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालयका बीचमा निकट समन्वय नहुँदा आयोजना प्रभावित भएको छ ।’

समितिले सबै विभागीय मन्त्रालयसहित मन्त्रिपरिषद् सचिवालयका सचिवहरूसँग छलफल गरेको छ’, सभापति बिडारीले थप्नुभयो, ‘यो आयोजना सम्पन्न गर्न अहिले जति खर्च भइसक्यो त्यो खर्च बाहेक अब १ खर्ब ७५ अर्ब खर्च फेरि चाहिने कुरा रहेछ। त्यो रकमको स्रोत सुनिश्चित नहुञ्जेलसम्म ठेक्कापट्टा लगाउने काम र कार्य अगाडि बढाए काममा अवरोध हुन्छ।’

समितिले रकम सुनिश्चित गराउनको निम्ति सम्बन्धित मन्त्रालयसँग छलफल गर्न निर्देशन दिएको छ।

‘रकम सुनिश्चित गराउनको निम्ति नेपाल सरकार अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालयको कस्तो प्रकारको सोच छ र काम काम अगाडि बढाइन्छ त ? भन्ने हाम्रो सरोकार रहेको छ ।’, सभापति बिडारीले भन्नुभयो, ‘विभिन्न मन्त्रालयहरूको समन्वय नहुँदा काममा ढिलाइ भएको छ। कहिले रूख काट्नको लागि ढिलाइ, कहिले एलाइनमेन्ट परिवर्तन भएकोलाई स्वीकृत दिनको लागि ढिलाइ, कहिले निजी क्रसर उद्योगहरू ठाउँ-ठाउँमा खोलेर त्यसले डिस्टर्ब गरेर त्यसको कारणले हुन गएको ढिलाइलाई कसरी समाधान गर्ने त ?’

उहाँले अब छिट्टै फेरि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, रक्षा सचिव र अर्थ सचिवलाई बोलाएर निर्माणको गति नरोकिने गरी आयोजना बढाउन सहयोग गर्न अनुरोध गरिने पनि बताउनुभयो ।

 

Share Now

Leave a comment.