मस्कट(ओमान), २९ माघ । ओमानमा भैरहेको चतुष्कोणीय टी २० अन्तर्राष्ट्रिय श्रृखला अन्तर्गत आज नेपालले आफ्नो दोश्रो खेलमा युएईसंग प्रतिस्पर्धा गर्दैछ।
नेपालले पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो। युएईले आज पहिलो खेल खेल्दैछ।
नेपाल र युएई बीचको खेल अल अमिरात क्रिकेट मैदानमा हुनेछ। खेल नेपाली समय ११ः४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभीले गर्नेछ भने युट्युबमा ओएसआरस्पोर्टस् तथा दराज एप बाट समेत हेर्न सकिनेछ। यस्तै फेसबुकमा स्पोर्ट्स आई र युट्युबमा क्रिक ट्याकर च्यानलबाट प्रत्यक्ष प्रशारण हेर्न सकिने छ।
सिरिज अघि खेलिएको विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा युएईले ओमानलाई तीन मध्ये दुई खेलमा पराजित गरेको थियो भने एउटा खेल बराबरी भएको थियो।
युएईलाई पराजित गर्न असंभव छैन । टी २० अन्तर्राष्ट्रिय वरियतामा नेपाल १२ औं स्थानमा छ भने युएई १५ औं स्थानमा छ। दुई देश बीच हालसम्म तिन पटक टी २० अन्तर्राष्ट्रियमा भेट भएको छ जसमा नेपाल दुई खेलमा तथा युएई एक खेलमा विजयी भएका छन्।
नेपाल र युएईले पछिल्लो पटक टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा २०१९ जनवरी फेब्रुअरीमा प्रतिस्पर्धा गरेका थिए। नेपालले युएई भ्रमणमा तीन वटा टी २० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । सिरिजमा नेपाल २ १ ले विजयी भएको थियो।
पहिलो खेलमा युएई २१ रनले विजयी भएको थियो । दोश्रो र तेश्रो खेलमा नेपाल क्रमशः ४ विकेट र १४ रनले बिजयी बन्यो ।
नेपालले शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा कुशल भुर्तेल, करन केसी, शाहब आलम, जितेन्द्र मुखिया, कुशल मल्ल र लोकेश बमलाई बाहिर राखेको थियो। करन र मुखिया बाहिर हुँदा नेपाल एक जना फास्ट बलर कम लिएर मैदान उत्रेको थियो। टी २० विश्वकप छनोटको लागि सहि कम्बीनेसन तयार गर्नु पर्ने हुनाले युएई बिरुद्ध नेपालले टिममा खेलाडीहरु परिवर्तन गर्ने पक्का छ।
नेपाल टिम : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र मुखिया, विवेक यादव, लोकेश बम र सागर ढकाल
युएई टिम : चिराग सुरी, मोहम्मद उस्मान, भृत्य अरभिन्द ( विकेटकिपर ) , रोहन मुस्तफा, एहमद राजा ( कप्तान ) , जहुर खान, आलिशान शरफु, कार्तिक मैयेप्पन, जवर फरिद, जुनैद सिद्दिकी, बसिल हमिद, काशिफ दाउद, मुहम्मद वासिम, अकिफ राजा


















