Prakash Adhikari February 16, 2022

पोखरा(कास्की) ४ फाग। पर्यटकीय नगरी पोखराको सेँदीमा रहेको अन्नपूर्ण केबुलकार शुक्रबार फागुन ६ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

कम्पनीका महाप्रबन्धक दिनेश पौडेलका अनुसार शुक्रबारदेखि सफ्ट ओपनिङ गर्न लागिएको हो ।

‘शुक्रबारदेखि यात्रुहरुले सेवा लिन सक्नुहुन्छ, यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ पौडेलले भन्नुभयो ।

दशैं अघि नै केबलकार सञ्चालन गर्ने लक्ष्य लिइए पनि जापानबाट प्राविधिकहरु आउन नसकेपछि सञ्चालनको मिति पछि धकेलिएको थियो ।

फेवातारको किनारादेखि सराङकोटसम्म पुग्ने केबुलकार २ हजार २ सय ७५ मिटर लम्बाइको हुनेछ । जसमा १३ वटा टावर रहनेछन् भने १८ वटा क्याबिनले यात्रु ओसारपसार गर्नेछन् ।

महाप्रबन्धक पौडेलका अनुसार २ किलोमिटरको दूरी पार गर्नका लागि ८ मिनेटको समय लाग्नेछ । एउटा क्याबिनमा बढीमा ९ जनाका हिसाबले १ सय ४४ जनाले एकैसाथ यात्रा गर्न सक्नेछन् ।

केबुलकार सञ्चालन भएपछि पोखरामा रमाउने पर्यटकका लागि थप अर्को आकर्षण थपिने छ ।

सराड.कोट सूर्याेदय र सूर्यास्तको दृश्यका साथै पोखरा उपत्यका र पोखरा शहर हेर्ने उपयुक्त स्थान हो । त्यसैले कम्पनीले केबुलकार विहान ५ बजेदेखि नै सञ्चालन गरिने गरी तयारी थालेको छ ।

तर शुरुका दिनहरुमा केबुलकार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुनेछ । जसमा हाल दैनिक २ सयदेखि ३ सयले यात्रा गर्ने अपेक्षा गरिएको छ ।

केबुलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियाली वन जंगल तथा पोखराको सुन्दर दृश्य देख्न सकिन्छ ।
कम्पनीले पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक १५ सय मानिसलाई सेवा दिन सक्नेछ ।

कम्पनीले सेदीदेखि सराङकोटसम्ममा बीच बाटोमा तार मुनी (राइट अफ वे)मा पर्ने जग्गा स्थानीयसँग खरिद गरिसकेको छ । शुरुमा कम्पनीले त्यस्ता जग्गाधनीलाई अंशीयार बनाउने निर्णय गरेको थियो ।

हाल कम्पनीमा २० प्रतिशत लगानी स्थानीयबासी, १५ प्रतिशत जापानी लगानीकर्ता र बाँकी ६५ प्रतिशत लगानी कालु गुरुङ र उहाँको समूहको रहेको छ ।

कम्पनीले केबुलकारका दोहोरो शुल्क नेपालीलाई ७ सय रुपैयाँ र सार्क राष्ट्रका नागरिकलाई ८ सय रुपैयाँ तथा अन्य विदेशी नागरिकलाई ९ डलर निर्धारण गरेको छ ।

Share Now

Leave a comment.