Prakash Adhikari February 18, 2022

 

काठमाडौं, ६ फागुन । सत्ता गठबन्धनका शीर्ष नेताको बालुवाटरको छलफल सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशनबाट नेपालमा गरिबी निवारणका लागि सडक विस्तार र प्रशारण लाईन निर्माणका लागि प्राप्त ६० अर्ब रुपैयाभन्दा बढीको रकम लिने सम्बन्धमा भएको संझौता छलफलका लागि टेबल नगर्ने सहमति भएको छ ।

बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिनुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले भन्नुभयो, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले ८ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’

नेकपा एकीकृत समाजवादीले एमसीसीको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन फागुन ७ गते स्थायी समितिको बैठक राखेको छ । सो बैठकबाट एमसीसी पारित गर्ने पक्षमा एकीकृत समाजवादीको धारणा आउने अनुमान गरिएको छ । गठबन्धनभित्र एमसीसीका बारेमा अरु नेताभन्दा नेपाल उदार देखिनुभएको छ ।

बालुवाटार बैठक जानु पहिले गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू प्रचण्ड निवास खुमलटारमा यसै बिषयको छलफलमा जुट्नुभएको थियो । बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत तीनै पार्टीका मुख्य नेताहरू उपस्थित हुनुहुन्थ्यो।

उक्त बैठकले एमसीसी आजको प्रतिनिधिसभाको बैठकमा पेस गर्न सक्ने वातावरण नभएको निष्कर्ष निकालेको थियो ।

सो बैठकले एमसीसी संसदमा छलफल गराउन पहिला संसद सुचारू गर्न पर्ने शर्त राखेको थियो । बैठकले कुन कानुनअनुसार एमसिसी संसदमा पेस गर्ने हो भन्ने पनि स्पष्ट हुनुपर्ने माग गरेको थियो ।

बिहीबार बेलुका बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी जसरी पनि टेबल गर्नुपर्ने बताएपछि गठबन्धनमा खटपट पैदा भएको थियो ।

गठबन्धनबाट एमसीसी संझौता अनुमोदन गर्न साथ पाउने संकेत नपाएपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुग्नुभएको थियो ।

Share Now

Leave a comment.